सल्यान । नेकपा एमालेले सल्यान जिल्लामा एक व्यक्तिले एमाले परित्याग गरेर अन्य पार्टीमा प्रवेश गरेको भनी सार्वजनिक गरिएको विषयमा आपत्ति जनाएको छ । एमालेका अनुसार सुवर्ण योगी नाम गरेका व्यक्ति पार्टीको साधारण सदस्यसमेत नरहेको र कुनै पनि तहको पार्टी कमिटी जिम्मेवारीमा नरहेको स्पष्ट पारिएको छ ।
केही दिनअघि बागचौर क्षेत्रमा आयोजित कार्यक्रममा सुवर्ण योगीले एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको भनी प्रचार गरिएको थियो । तर एमाले जिल्ला कमिटीका अध्यक्ष भिम बहादुर सेनले उक्त दाबी तथ्यहीन रहेको बताएका छन् । “सुवर्ण योगी एमालेको साधारण सदस्यसमेत होइनन् । पार्टीको कुनै संरचनामा उनको संलग्नता थिएन । त्यसैले एमाले परित्याग भन्ने प्रचार सरासर भ्रम हो,” अध्यक्ष सेनले भने ।
एमालेका अनुसार ती व्यक्ति यसअघि नै दुर्गा प्रसाईंको अभियानसँग जोडिएका थिए । त्यसैले एमालेसँग सम्बन्धित रहेको भनी प्रस्तुत गर्नु जनतालाई भ्रमित पार्ने प्रयास भएको पार्टीको भनाइ छ ।
पार्टीले यस्ता आधारहीन प्रचार तथा अफवाह नफैलाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । निर्वाचनको माहोलमा मतदातालाई भ्रममा पार्ने गतिविधि लोकतान्त्रिक संस्कारविपरीत हुने एमालेको धारणा छ ।
एमाले सल्यानले हाल आफ्नो निर्वाचन अभियान मर्यादित, शान्त र जिम्मेवार ढंगले सञ्चालन गरिरहेको जनाएको छ । अध्यक्ष सेनका अनुसार कुनै तडकभडक, भ्रम वा अफवाह नफैलाइ आफ्ना दृष्टिकोण, नीति तथा योजनाहरू मतदातामाझ प्रस्तुत गर्दै अभियान अगाडि बढाइएको छ । साथै नागरिकका आवाज, गुनासा, सुझाव र सल्लाहलाई प्रत्यक्ष सुन्ने र त्यसको सम्बोधन गर्ने प्रतिबद्धतासहित कार्यक्रमहरू सञ्चालन भइरहेको पार्टीले जनाएको छ ।
एमालेले प्रतिस्पर्धालाई स्वस्थ र विचारप्रधान बनाउन सबै राजनीतिक दल र सरोकारवालालाई आग्रह गरेको छ ।
