सल्यान। लुम्बिनी–रारा राजमार्ग अन्तर्गत पर्ने रागेचौर–चौरजहारी तथा सल्ली–चौरजहारी सडक खण्डमा रहेको मर्म खोला (स्यानिपिप्ली बजार) क्षेत्रमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढ्ने भएको छ।

कुमाख गाउँपालिकाको स्यानिपिप्ली बजारस्थित उक्त मर्म खोलामा पुल निर्माणलाई लिएर देखिएको विवाद हिजो चैत्र ८ गते सम्पन्न छलफलमार्फत समाधान गरिएको हो। सल्यान प्रदेश सभा ‘क’ का माननीय प्रदेश सभा सदस्य एवं पूर्व प्रदेश कृषि मन्त्री भिम प्रकाश शर्माको प्रमुख उपस्थितिमा, कुमाख गाउँपालिकाका पूर्व अध्यक्ष दिलमाया बुढामगर, वडा नं. १ का अध्यक्ष डिल्लि बहादुर राना, वडा नं. ४ का अध्यक्ष शोभिलाल बस्नेत, पूर्वाधार कार्यालय सल्यानका प्रमुख इन्जिनियर नवीन थापा, स्थानीय समाजसेवी तथा बासिन्दाहरूको सहभागितामा सहमति जुटाइएको हो।

विवाद समाधान भएसँगै स्थानीय समुदायको लामो समयदेखिको व्यग्र प्रतीक्षापछि पुल निर्माणका लागि ठेक्का मूल्याङ्कन प्रक्रियामा प्रवेश गरेको छ। यससँगै अब निर्माण कार्य अगाडि बढ्ने भएको छ।

लुम्बिनी–रारा राजमार्गको महत्वपूर्ण खण्ड मानिने यस क्षेत्रमा पुल निर्माण भएपछि यातायात सहज हुने, वर्षायाममा हुने आवागमन समस्या समाधान हुने तथा स्यानिपिप्ली बजारसहित आसपासका क्षेत्रको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  २ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्