सल्यान । नेपाल पत्रकार महासंघ सल्यान शाखाको ७औँ वार्षिक साधारणसभा सल्यानको खलंगा मा सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत को अध्यक्षता तथा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश का उपाध्यक्ष लक्ष्मण केसी को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति सल्यान का प्रमुख वेलाराम रावल तथा जिल्ला हुलाक कार्यालय सल्यानका प्रमुख चिन्तामणि रेग्मी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
साधारणसभामा बोल्ने वक्ताहरूले बदलिँदो समयसँगै पत्रकारितामा चुनौती थपिँदै गएको उल्लेख गर्दै पत्रकारिताको विश्वसनीयता जोगाउन सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा प्रमुख अतिथि लक्ष्मण केसीले विगतको तुलनामा अहिले पत्रकारिता क्षेत्र थप चुनौतीपूर्ण बनेको बताउनुभयो। उहाँले बदलिँदो प्रविधि, सामाजिक सञ्जालको बढ्दो प्रभाव तथा सूचनाको तीव्र प्रवाहका बीच पत्रकारिताको विश्वसनीयता कायम राख्नु अहिलेको प्रमुख जिम्मेवारी भएको धारणा राख्नुभयो।
“पत्रकारिता राज्यको ‘वाचडग’ अर्थात् खबरदारी गर्ने क्षेत्र हो। पत्रकारहरूले राज्यका गलत गतिविधिमाथि निरन्तर निगरानी र खबरदारी गरिरहेका छन्,” उहाँले भन्नुभयो, “तर राज्यले पत्रकारितालाई सहयोग र संरक्षण गर्नुको सट्टा विभिन्न किसिमका अंकुश लगाउने प्रयास गरिरहेको अवस्था पनि देखिन्छ।”
उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेस अपरिहार्य रहेको उल्लेख गर्दै पत्रकारहरू सत्य र तथ्यमा आधारित पत्रकारितामा एकताबद्ध हुनुपर्ने बताउनुभयो। साथै पत्रकारमाथि हुने दबाब, असुरक्षा तथा पेशागत चुनौतीप्रति राज्य गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
विशिष्ट अतिथि वेलाराम रावलले पत्रकारिता समाजको महत्वपूर्ण अंग भएको बताउँदै जनताका आवाज, समस्या र सरोकार सम्बन्धित निकायसम्म पुर्याउने ठूलो जिम्मेवारी पत्रकारहरूको काँधमा रहेको उल्लेख गर्नुभयो।
“पत्रकारिता केवल समाचार लेख्ने काम मात्र होइन, समाजका मुद्दा उठाउने, नागरिकको पक्षमा पैरवी गर्ने र जनचेतना फैलाउने माध्यम पनि हो,” उहाँले भन्नुभयो।
त्यस्तै, चिन्तामणि रेग्मीले संस्था बलियो भए मात्रै पत्रकार पनि बलियो बन्न सक्ने धारणा राख्नुभयो। उहाँले पत्रकारहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताउँदै पत्रकारितालाई कमजोर पार्ने गतिविधिबाट सचेत हुन आग्रह गर्नुभयो।
कार्यक्रममा पत्रकारिताको वर्तमान अवस्था, पेशागत चुनौती, सञ्चारमाध्यमको दिगोपना, पत्रकार सुरक्षा तथा स्थानीय पत्रकारितालाई थप सशक्त बनाउने विषयमा समेत छलफल गरिएको थियो।
सभामा शाखाका सचिव बुद्धि पुन ले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष खकेन्द्र केसी ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सक्रिय पत्रकार अमृत बाबु बुढाथोकी लाई सम्मान गरिएको थियो।

कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरू रमेश कुमार गौतम, प्रतिक इच्छुक शर्मा, पूर्व कार्यवाहक अध्यक्ष सनत कुमार शर्मा, केन्द्रीय सदस्य टेकराज शाही, सल्लाहकारद्वय शंकर केसी तथा तिलकराज वली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
त्यसैगरी प्रेस युनियन नेपाल का प्रदेश सदस्य श्रवण देवकोटा, प्रेस चौतारी नेपाल का प्रदेश सदस्य नोखिराम थापा, प्रेस सेन्टर नेपाल सल्यानका अध्यक्ष सरिता चलाउने तथा समाजवादी प्रेस संगठन का केन्द्रीय सदस्य रमेश ओली लगायतले पत्रकारिताको पेशागत मर्यादा, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा डिजिटल पत्रकारिताको प्रभावबारे धारणा राख्नुभएको थियो।
साधारणसभाले ६ बुँदे घोषणापत्र समेत जारी गरेको छ। कार्यक्रममा सहभागी सदस्यहरूले पत्रकार महासंघलाई अझ सक्रिय, पारदर्शी र सदस्यमुखी बनाउन सुझाव दिएका थिए।
कार्यक्रमको सञ्चालन सचिव बुद्धि पुनले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष शिव डाँगी ले राख्नुभएको थियो।
