सल्यान। सल्यान लगाएत विभिन्न पहाडी जिल्लाहरुमा किसानहरुले टिमुर खेती गर्दै आएका छन् । यसको बजारमा माग उच्च छ । मूल्य पनि राम्रो छ । तर टिमुरको बोटमा हुने तिखा काँडाका कारण किसानहरुलाई टिमुर संकलन गर्दा निकै कठिनाई हुनेगरेको छ । अब भने टिमुर टिप्दा हुने ठूलो लागत र कठिनाइ व्यहोर्दै आएका किसानका लागि राहत मिल्ने भएको छ । सहज तरिकाले टिमुर टिप्नका लागि औजारको नयाँ नमुना विकास गरिएको वनस्पति अनुसन्धान केन्द्र सल्यानले जनाएको छ ।

केन्द्रका प्रमुख वैज्ञानिक अधिकृत डा. मित्र पाठकले आम्दानीको करिब आधा हिस्सा टिमुरको दाना संकलन गर्नमै खर्च हुने समस्या समाधान गर्न नयाँ कृषि प्रविधिको विकास गरिएको जनाउनुभयो । राष्ट्रिय आविष्कार केन्द्र अन्तर्गतको कृषि औजार कारखाना वीरगञ्जसँगको सहकार्यमा नयाँ प्रविधि र कृषि यन्त्रको नमुना निर्माण गरिएको उहाँको भनाई छ । आर्थिक वर्ष २०८२।०८३ को कार्यक्रम अनुसार केही थान मात्र नमुना तयार गरिएको र समूह वा किसानको माग भयो भने कम्पनीकै लागत मूल्यमा किन्न सकिनेगरी समन्वय गरिने अनुसन्धान केन्द्रले जनाएको छ ।

टिमुर टिप्ने क्रममा किसानहरूले भोग्दै आएको शारीरिक सास्ती कम गर्न र खर्च उल्लेख्य रूपमा घटाउन यो प्रविधि उपयोगी हुने अपेक्षा गरिएको छ । केन्द्रका अनुसा टिमुरको बोटमा तिखा काँडा हुने भएकाले हातले टिप्न निकै जोखिमपूर्ण र ढिला हुने, हातले वा हाँगा भाँचेर टिप्दा फल बिग्रिने तथा अर्को वर्षको फल उत्पादनमा समेत असर पर्ने जोखिम हुन्छ ।

“हामीले दिएको डिजाइन अनुसार कम्पनीले उपकरण बनाएको छ । यसको प्रयोगले श्रमको आवश्यकता घट्ने र छोटो समयमा धेरै टिमुर संकलन गर्न सकिने आँकलन गरिएको छ”, डा. पाठकले भन्नुभयो, “यो प्रविधि सफल भयो भने ठूलो परिमाणमा उपकरण उत्पादन हुन्छ ।”

सल्यानमा टिमुरलाई मुख्य व्यावसायिक जडीबुटीका रूपमा खेती गरिँदै आएको छ । वनस्पति अनुसन्धान केन्द्रले किसानहरूको व्यावहारिक समस्यालाई ध्यानमा राख्दै प्राविधिक सहयोगका लागि पहल थालेको हो । हाल निर्माण गरिएको नमुना उपकरणले काँडाबाट बचाउँदै सुरक्षित र छिटो तरिकाले टिमुरका दाना मात्र वा साना झुप्पा छुट्याउन सघाउने बताइएको छ ।

सल्यानबाट वार्षिक करिव ५० करोड रुपियाँ बराबरको टिमुर निकासी हुँदैआएको बताइन्छ । नेपालमा सामुन्द्रिक सतहबाट आठ सयदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा टिमुर खेती गरिएको पाइन्छ । सल्यानमा ठूलो परिमाणमा टिमुर खेती हुन्छ भने सुर्खेत, रुकुम, जाजरकोट, दैलेख, रोल्पा, गुल्मी, बाग्लुङ, पाल्पा, म्याग्दी, स्याङ्जा, पर्वत लगायत जिल्लामा पनि टिमुर फलाउने गरिन्छ ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ४ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्