सल्यान, भदौ २ । सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानीमा फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।
बुधबार बिहान करिब ११ः५० बजे राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यान सडकखण्डमा नेपालगञ्जबाट रुकुम पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख १११२ नम्बरको फोर्स गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा.६८ प २५२८ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।
दुर्घटनामा मोटरसाइकलमा सवार कपुरकोट गाउँपालिका–६ सिमडाँखोलीका ३४ वर्षीय बेदबहादुर वली र सोही स्थानका ५२ वर्षीय शुकलाल वली गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार दुवै जनाको टाउकोमा चोट लागेको छ र बोल्न नसक्ने अवस्थामा रहेका छन्।

दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी कपुरकोटबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि तुलसीपुर, दाङतर्फ पठाएको जनाएको छ।
दुर्घटनामा दुवै सवारीसाधनमा क्षति पुगेको छ। फोर्स गाडीका चालक तुलसीपुर उपमहानगरपालिका–११, दाङका २७ वर्षीय सुरज मिजारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन गरेका थिएनन्। दुर्घटनाका कारण सडकमा यातायातसमेत अवरुद्ध नभएको प्रहरीले जनाएको छ।
