३ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले नेपालमा करिब ११ लाख बालबालिका बालश्रममा संलग्न रहेको भन्दै बालश्रम अन्त्यका लागि राज्य गम्भीर बन्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभामा बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ संशोधन विधेयकमाथि बोल्दै मल्लले बालश्रमको ठूलो हिस्सा अनौपचारिक क्षेत्र, कृषि र घरेलु काममा रहेको बताए। उनका अनुसार करिब सवा २ लाख बालबालिका जोखिमपूर्ण काममा संलग्न छन्।
इँटाभट्टा, होटल, चिया पसल, निर्माण तथा कृषि क्षेत्रमा बालबालिका श्रम गर्न बाध्य रहेको उल्लेख गर्दै उनले उनीहरूलाई विद्यालयमा ल्याउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए।
बालश्रमको मुख्य कारण गरिबी भएकाले गरिबी न्यूनीकरण, शिक्षा र बालअधिकारलाई जोडेर राज्यले प्रभावकारी नीति बनाउनुपर्ने उनको भनाइ छ।
