हामी परिक्षण प्रसारणमा छौ



४ जेठ,बागचौर । बागचौर नगरपालिकामा २५ शैयाको कोभिड‐१९ आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ ।

नगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरी २५ शैयाको उक्त आइसोलेसन सेन्टरमा १ जना मेडिकल अधिकृत (डाक्टर), ४ जना हेल्थ असिस्टेन्ट(एच.ए), २ जना स्टाफ नर्स, ३ अनमी सहितको स्वास्थ्यकर्मीको टिम र ५ जना कार्यालय सहयोगी परिचालन गरिएको जनाएको छ ।

आइसोलेसन केन्द्रमा ३८ वटा ठुला अक्सिजन सिलिन्डर र ५ वटा अक्सिजन कन्सन्ट्रेटर रहने भएपनि अहिले ८ वटा अक्सिजन सिलिन्डर आइसकेका छन् भने बाँकी समान आउँदै गरेको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले जानकारी दिए । आइसोलेसन केन्द्रमा सेवाग्राहीका लागि वाइफाइ लगायत आवश्यक सुबिधा जडान गरिएको छ ।

नगरपालिकाको नयाँ भवनमा सञ्चालन भएको आइसोलेसन सेन्टरको लागि मेयर लोकमान बुढाथोकीले व्यक्तिगत रूपमा २० थान नयाँ अक्सिजन सिलिन्डर गराएको जानकारी दिए । उनले भने,‘मैले व्यक्तिगत रुपमा २० थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने छु,जसमध्ये ८ थान सिलिन्डर आइसोलेसन सेन्टरमा आइसकेको छ भने १२ थान सिलिन्डर आउँदै छ ।’

यस अगाडि आफुले पाउने तलब व्यक्तिगत रूपमा खर्च नगरेर सम्पूर्ण रकम जनताको सेवामा लगाउने पहिले नै उद्घोष गरेका मेयर बुढाथोकीले यस अगाडि पनि नगरपालिकाले कोरोना रोकथाम तथा उद्धारको लागि बनाएको कोषमा ४ लाख ५० हजार जम्मा गरेका थिए ।

आइसोलेसन सञ्चालनमा आएसँगै कोभिड १९ का बिरामीहरूलाई, नगर भित्रै उपचार गराउन सहज हुने उपप्रमुख कल्पना पुनको भनाइ छ ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मीदेवी होमागाँई खतिवडा, नेपाली सेनाका कर्नेल कन्चन कृष्ण बस्नेत, डिएसपी गोबिन्द थापा, सशस्त्र डिएसपी सन्तोष रायमाझी, राष्ट्रिय अनुसन्धान डिएसपी विनोद दवाडी, लगायतको टोलीले बागचौरमा बनेको आइसोलेसन केन्द्रको अनुगमन समेत गरेको थियो ।

२५ शैयाको आइसोलेसन केन्द्रमा बिजुली, शौचालय, खानेपानी, सरसफाइ, क्यान्टिन, इन्टरनेट लगायतका अन्य सुविधाहरू समेत रहेको बागचौर नगरपालिकाले जनाएको छ ।

तस्वीरहरु : बामदेब केसी

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार, ,  ४ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्