हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेकपा (माओवादी केन्द्र) सल्यानद्वारा २७ औं जनयुद्ध दिवस जिल्लाका विभिन्न पालिकामा विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटीले २७ औं जनयुद्ध दिवस विभिन्न शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाएको छ ।

पार्टीका नगर कमिटी अध्यक्ष शोभाराम भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका जिल्ला समन्वय समितका संयोजक कृतिबहादुर पुन,नेता भिमप्रकाश शर्मा ,प्रदेश कमिटी सदस्य टिकाराम वली लगायतले मन्तव्य राख्दै सहिदको सपना पुरा गर्न अझै डटेर सिंगो पार्टीपंक्ति लाग्नुपर्ने बताउनु भयो । आज बागचौरकै प्लाटुन चौरमा आज एक कार्यक्रम गरी जनयुद्ध दिवस मनाईएको छ । तत्कालिन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गरिन्छ ।

यस्तै जनयुद्ध दिवसको अबसर पारी माओवादी केन्द्र कपुरकोटले विभिन्न वडामा कार्यक्रम गरी भव्य रुपमा मनाएको त्यहाँबाट तेजु विवशले जानकारी दिनुभएको छ । प्रमुख अतिथिको आसनबाट बोल्दै माओवादी केन्द्रका जिल्ला संयोजक कृतिबहादुर पुनले २७ औं जनयुद्ध दिवसको सबै सर्वहारा श्रमजीवी जनता र क्रान्तिकारी शक्तिहरुलाई शुभकामना दिदै महान दश वर्षे जनयुद्धका सहिद बेपत्ता र घाइते योद्धाप्रति सम्मान व्यक्त गर्नुभएको थियो । उहाँले जनयुद्धको वास्तविक उदेश्य पूरा भइनसकेकोले सहिदहरुको सपना पूरा गर्न आफ्नो पार्टी लागिरहेको बताउनुभयो ।

नेता पुनले सामन्तवादलाई घुँडा टेकाउने जनयुद्धले जनमतको बिरुद्ध केपी वलीले विघठन गरेको प्रतिनिधिसभा पुनःस्थापना लगायतका थुप्रै आन्दोलनमा अग्रनी भूमिका निभाएको जनाउदै नेपाली श्रमजीवि जनतामाथि केपी शर्मा वलीले ठूलो घात गरेको आरोप समेत लगाउनुभयो । प्रमुख अतिथि पुनले जनयुद्धको उदेश्यलाई पूरा गर्न र उपलब्धिलाई संस्थागत गर्न एक पटक सम्पूर्ण देशभक्त क्रान्तिकारी एक भएर सँघर्ष गर्नु पर्ने समय फेरी आएको बताउदै रास्ट्रघाती एमसीसी सम्झौताको विषयमा भण्डाफोर समेत गर्न पार्टी पंक्ति वडा तहबाट लाग्नुपर्ने जोडदिनुभयो । कार्यक्रमा नेकपा (माओवादी केन्द्र) प्रकाश भण्डारी,जनक घर्ती,शेर बहादुर पुन लगायतले मन्तव्य राख्नुभएको थियो ।

यस्तै आज माओवादी केन्द्रले शारदा नगरपालिका,बनगाड कुपिण्डे नगरपालिका,कुमाख गाउँपालिका,दार्मा गाउँपालिका,छत्रेश्वरी गाउँपालिका,सिद्ध कुमाख गाउँपालिका,कालिमाटी गाउँपालिका,त्रिवेणी गाउँपालिकामा समेत विभिन्न कार्यक्रम गर्दै २७ जनयुद्ध दिवस भव्य रुपमा मनाएको जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार, ,  ११ : १५ बजे

प्रतिक्रिया दिनुहोस्