हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष ईन्द्र बहादुर कुमाईलाई अर्काको श्रीमती भगाएर तेस्रो बिहे भन्दै शुक्रबार बेलुका जयतपानी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा अध्यक्ष सँगै तेस्रो बिहे गरेकी उनकी कान्छी श्रीमती भनिएकी ग्वाँमी बोहरा कुमाईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको एक स्थानीयले सल्यानन्युजलाई बताए ।

घरमा २ जना श्रीमती र दुबै श्रीमती तर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको भनी स्थानीय ५ जनाले सल्यान प्रहरीमा बहुविवाह गरेको कसुरमा उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत सल्यानबाट पक्राउ अनुमति लिएर आरोपीत दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इनिस्पेक्टर लक्ष्मण ओलीले जनाए ।
उनका अनुसार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको उनको भनाइ छ । पक्राउ परेका वडाअध्यक्षले केही दिनअघि घटना गाउँमै मिलाउन भन्दै तेस्रो पटक भगाएर ल्याएको पूर्व पतिलाई झण्डै ७ लाख क्षतिपूर्ति (जारी) समेत तिरेका थिए । तेस्रो बिहेले उनको वडा अध्यक्ष पद,सामाजिक प्रतिष्ठा गुम्नुको साथै पैसा त्यसमा जेलको बास भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार, ,  १० : ३२ बजे

प्रतिक्रिया दिनुहोस्