हामी परिक्षण प्रसारणमा छौ

बहुप्रतिष्ठित लुम्बिनी–रारा पर्यटकिय द्रुतमार्गको सल्यान सडक खण्डको ट्रयाक खुल्यो

अहिलेका सबै विकास समाजवादी व्यवस्था निर्माणका आधारस्तम्भ : बस्नेत



सल्यान । शुक्रबारबाट जिल्लाको बहुप्रतिष्ठित लुम्बिनी–रारा पर्यटकिय द्रुतमार्गको सल्यान सडक खण्डको ट्रयाक खुलेको छ ।

प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टेक बहादुर बस्नेतले उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै देशको संविधान समाजवाद उन्मुख भएकाले समाजवादको आधार निर्माण गर्ने गरी काम भईरहेको बताए । एकथरी मान्छेले अहिलेनै समाजवाद आउनुपर्ने जस्तो गरेर सरकारलाई विवादमा तान्न खोजेको भन्दै अहिले समाजवादको निम्ती तयारी भैरहेको बताए ।

बस्नेतले जनयुद्धको बलमा जनआन्दोलन भएको भन्दै माओवादीले हतियार नउठाएको भए गणतन्त्र नआउने बताए । उनले भने –‘गणतन्त्र आएको छ, यसको संस्थागत विकास अनि रक्षा गरौं अनि समाजवादका निम्ती काम गरौं ।’ अहिलेका सबै विकास समाजवादी व्यवस्था निर्माणका निम्ती भएको भन्दै उनले जनताका आधारभुत आवश्यकता बढेकोमा राज्यजले पनि ध्यान दिने बेला आएको बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख हरि प्रकाश बुढाथोकीले व्यवस्थाको परिवर्तनले मात्रै जनता र सरकार नजिक भएकाले यसको संस्थागत गर्नेबेला आएको बताए ।

यस्तै कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले अहिलेको विकास संघीयताका कारण मात्रै सम्भव भएको भन्दै संघीयताको उपलब्धी जनयुद्ध र जनआन्दोलनका कारण मात्रै भएको धारणा राखीन् । उनले सरकारले २० बर्ष पहिला गरेका काम र अहिले गरेका कामलाई तुलना गर्दा आकाश पातालको फरक भएको भन्दै यसलाइ अझ विस्तार गर्नुपर्ने बताएकी थिइन् ।

कुमाख गाउँपालिका वडा नम्बर ‐७, को जिमाली भेरी खोला देखि कल्लेखोला सम्मको ४ किलोमिटर बाटोमा नयाँ ट्रयाक खोलेपछि सल्यान चाख्लिघाट–कुमाख–जिमाली–त्रिवेणी झण्डै एक घण्टा छोटो हुनेछ ।
ट्रयाक जोडिएपछि अहिले कुमाख १, २, ३, ४ र ७ वडाका स्थानीयवासी तथा चौरजहारीबाट श्रीनगर आउने लाइ झण्डै १ घण्टा समय बचत हुनेछ । यो मार्ग हुलाकी मार्गको रुपमा पनि चिनिदै आएको छ


भौतिक पुर्वाधार मन्त्रालय अन्र्तरगत सडक डभिजिन कार्यालय दाङले २ करोडमा ठेक्का प्रक्रिया बढाएपनि सविन कन्ट्रक्सन प्रा.लि.ले १ करोडमा उक्त सडकको नयाँ ट्रयाक खुला गरेको हो ।

सविन कन्ट्रक्सनका अमृत देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दुर्गा बुढाथोकीले गरेका थिए भने सहभागीलाइ स्वागत तथा धन्यवाद वडाध्यक्ष तुलाराम बोहोराले गरेका थिए ।

तस्बिर सौजन्य – डिल्लिराज रावत

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार, ,  ११ : ११ बजे

प्रतिक्रिया दिनुहोस्