हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको शिद्धकुमाख गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरले स्थानीय लाभान्वित भएका छन् ।

सिद्ध कुमाख गाउँपालिकाको आयोजना र  सिटी हस्पिटल तुलसीपुर  दाङको  सहकार्यमा भएको एक दिने उक्त निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ७४ जनाले स्वास्थ्य सेवा लिएका हुन । ३ सय ९४ जना महिला र १ सय ८० जना पुरुषले सेवा लिएको गाउँपालिकाले जनाएको छ । 

शिविरमा ६ जना विशेषज्ञ डाक्टरहरूले उपचार सेवा दिएका थिए । शिविरमा हाड जोर्नी, नसा, नाक कान, घाटी, आँखा,मधुमेह र स्त्री रोग लगायतको सेवा उपलब्ध गराइएको छ । शिविरमा आउने बिरामीका लागि निःशुल्क स्वास्थ्य परामर्श, औषधि, ल्याब तथा भिडियो एक्स-रे लगायतका सेवा उपलब्ध गराइएका गाउँपालिकाले जनाएको छ । शिविरमा ४ वर्षीय बालबालिका देखि किशोर किशोरी र ८० वर्षका बृद्धबृद्धाले समेत  सेवा लिएका छन् । निःशुल्क स्वास्थ्य सेवा लिन पाउँदा नागरिक खुसी भएका छन् । 

नागरिक अझै स्वास्थ्य उपचारबाट टाढा रहेको र सहज रुपमा उपचार नपाएका कारण गाउँमै सेवा दिने उद्देश्यले शिविरको आयोजना गरेको गाउँपालिका अध्यक्ष भरत गिरीले बताउनु भयो । स्वास्थ्य शिविरले आफ्नो पालिका भित्र कस्ता किसिमको रोगबाट नागरिकहरू समस्यामा परेका छन् भनेर त्यसको पहिचान गर्न सहज हुने उहाँले बताउनु भयो । आर्थिक अवस्था कमजोर भएका र जटिल खालका रोगका बिरामीलाई जिल्ला बाहिर लिएर निःशुल्क उपचार गरिने समेत गिरीको भनाई छ । 

सबै नागरिकले सहज रुपमा उपचार पाउनुपर्छ भनेर कानुनमा उल्लेख भएकाले स्थानीय सरकारले पनि यसलाई गम्भीरताका साथ लिएको सिद्धकुमाख गाउँपालिकाका उपाध्यक्ष राम बहादुर बस्नेतले बताउनु भयो । आगामी दिनमा पनि  पालिका भित्रका सबै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने पालिका उपाध्यक्ष बस्नेतको दाबी छ।

यसैबिच स्वास्थ्य शिविरको उद्घाटन गर्दे जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावलले गाउँमै स्वास्थ्य शिविर सञ्चालन गर्नु स्थानीय सरकारले सकारात्मक काम भएको बत्ताउनुभयो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार, ,  ६ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्