हामी परिक्षण प्रसारणमा छौ



सल्यान। सल्यानको कपुरकोट गाउँपालिकाले सार्वजनिक विदाको दिनमा पनि आफ्नो पालिकाभित्रका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य सेवा सुरु गरेको छ ।

६ वटै वडा स्थित स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह हुने गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले बताए । ‘स्वास्थ्य सेवाको सर्वव्यापी पहुँचलाई जोड दिदै हामीले नीति तथा कार्यक्रम पनि पारित गरेको छौँ, त्यसै अनुसार शनिबार लगाएत अन्य सार्वजनिक विदाको दिनमा पनि स्वास्थ्य संस्थाहरु खुल्ला राख्ने र सेवा दिने व्यवस्था मिलाएका छौँ,’ अध्यक्ष पुनले भने ।

आवश्यक जनशक्तिको व्यवस्थापन सहित विदाको दिनमा पनि आधारभुत तथा आकष्मिक स्वास्थ्य सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका सबै नागरिकसामु स्वास्थ्य सेवाको पहुँच र उपभोग बढाउनका लागि यस्तो व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए । स्वास्थ्य क्षेत्रमा गरिने लगानीले सर्वांगीन विकासमा सकारात्मक प्रभाव पार्ने भएकाले आफुहरुले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको उनको भनाई छ ।

सार्वजनिक विदाको दिनमा पनि स्वास्थ्य सेवा प्रवाह हुनेबारे सबै पालिकावासीलाई जानकारी गराउने गरी सूचना सम्प्रेशन गरिएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले बताए । विदाको दिनमा पनि स्वास्थ्य संस्था खोलेर सेवा दिने स्वास्थ्यकर्मीको सुविधाका लागि आवश्यक बजेट पनि विनियोजन गरिएको उनको भनाई छ ।

स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्दै स्वास्थ्य सेवा प्रवाहलाई गुणस्तरीय, जवाफदेही एवं परिणाममूखी बनाउन सबै स्वास्थययकर्मीहरु जिम्मेवार बनेर लागिपरेको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जानकारी दिए । खोप तथा पोषण कार्यक्रम, बालरोग व्यवस्थापन तथा नवजात शिशु स्याहार कार्यक्रम, परिवार स्वास्थ्य कार्यक्रम, प्राथमिक स्वास्थ्य सेवा, रोग नियन्त्रण तथा महिला स्वास्थ्य स्वयमसेविका जस्ता कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालनका लागि जनप्रतिनिधी लगाएउत सरोकारवालासंग समन्वयलाई पनि जोड दिइएको उनको भनाई छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार, ,  १ : ०० बजे

प्रतिक्रिया दिनुहोस्