हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुर,७ भदौ । दाङमा जनपत्रकार संघका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलीसहित ८ जना विप्लव निकट नेकपाका कार्यकर्ता पक्राउ परेका छन् ।

बन्दको क्रममा केहि गतिबिधि गरेको भन्दै तुलसीपुरबाट ४ जना र घोराहीबाट ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताउनु भयो ।

प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार पक्राउ पर्नेमा तुलसीपुरबाट पत्रकार हेमन्तप्रकाश वलीसहित विप्लव निकट युवा संघ नेपाल दाङका संयोजक सुदर्शन सेर्पाइली, उपाध्यक्ष दिपेन्द्र वली, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संञ्जय वली पक्राउ परेका छन् ।

बन्दको क्रममा टिप्पर चलाएको भन्दै बन्दकर्ताले टिप्पर रोकेका थिए । साथै टिप्परमा क्षमता भन्दा बढि लोड पनि राखिएको थियो । यही कुरालाई लिएर भएको विवाद पछि उनीहरुलाई पक्राउ गरिएको हो । तुलसीपुरबाट विहान साढे ७ बजेतिर नियन्त्रणमा लिईएको हो ।

त्यस्तै घोराहीबाट अखिल क्रान्तिकारी दाङका संयोजक खुमन पौडेल, जिल्ला सदस्यहिमाल केसी, टार्जन वली र प्रकाश बुढा मगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो । घोराहीमा टायर बालेर विरोध गरेको भन्दै पक्राउ गरिएको हो । साथै बन्दकर्ताले उच्छृङ्खल गतिबिधि गरेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

शान्तिपूर्ण ढंगले बन्द गराउन सडका गएका विद्यार्थी तथा नेताहरूलाई प्रहरीले बिना कारण गिरफ्तार गर्नु निन्दनीय कार्य भएको र घोराही- तुलसीपुरबाट गिरफ्तार सबै कार्यकर्तालाई नि:शर्त यथासिघ्र छोड्न आग्रह गरेको छ ।

चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महङ्गीकाविरुद्ध देशैभर आज बन्दको आह्वान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले गत साउन २७ गते नै संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार, ,  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्