हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल – नेपाल समूहले सल्यानमा सडकमै संविधान बाचन तथा ब्याख्या गरेर संसद् विघटनको विरोध गरेको छ । नेकपा सल्यानले संविधानका कुनै पनि धारा, उपधाराले प्रधानमन्त्रीलाई संसद् विघटन् गर्ने अधिकार नदिएको भन्दै आज सडकमै संविधान वाचन गरी विरोध प्रदर्शन गरेको हो ।

कार्यक्रममा बोल्दै पूर्व सामान्य प्रशासन मन्त्री तथा नेकपाका केन्द्रीय सदस्य टेक बहादुर बस्नेतले जनयुद्ध र दोस्रो जनआन्दोलनबाट प्राप्त संविधानलाई कुनै एक व्यक्तिको सनकको भरमा कुल्चिन नमिल्ने बताए । बस्नेतले संविधानको कुनै पनि धारामा प्र्रतिनिधिसभा विघटन् गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नदिएको बताउँदै संविधान भन्दा माथि हुने दुस्साह नगर्न ओलीलाई आग्रह गरे । उनले भने ‘संविधानमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न पाउने अधिकार छैन, त्यसैले केपी शर्मा ओलीको पछिल्लो कदम असंवैधानिक र अलोकतान्त्रिक हो ।’  बस्नेतले लामो समयको त्याग र बलिदानबाट स्थापित संविधान पुर्ण कार्यान्वयनको चरणमा रहेको अबस्थामा प्रधानमन्त्री ओलीले संसद बिघटन गरेर संविधानको हत्या गरेको बताए ।

नेकपाका सल्यान जिल्ला इन्चार्ज तथा संघर्ष समितीका जिल्ला संयोजक समेत रहनुभएका बस्नेतले संविधानमा औँलो ठड्याउने अधिकार कसैलाई नभएको अवस्थामा प्रधानमन्त्रीले संविधान विपरित गएर संसद विघटन गर्नु असंबैधानिक कार्य भएकोले सर्वोच्च अदालतले संसद विघटनको कार्यलाई तत्काल खारेज गरेरै छाड्ने आशा रहेको बताएका थिए । सोही कार्यक्रममा बोल्दै नेकपाका प्रदेश कमिटी सदस्य धिरेन्द्र बहादुर श्रेष्ठले प्रधानमन्त्रीले संसद बिघटन गरेर जनमतको अपमान गरेको बताए ।

कार्यक्रममा नेकपाका नेता तथा अखिल नेपाल शिक्षक संगठनका पूर्व केन्द्रीय अध्यक्ष रत्न बहादुर ओलीले संविधान वाचन गरेका थिए । अधिबक्ता सिपी ओलीले संविधानको ब्याख्या गर्दै संविधानका कुनै पनि धारामा संसद बिघटन गर्ने अधिकार बर्तमान प्रधानमन्त्रीमा नरहेको जानकारी बताए । उक्र कार्यक्रमको सहजीकरण नेकपाका जिल्ला कमिटी सदस्य रमेश कुमार गौतमले गरेका थिए ।

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार, ,  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्