हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) सल्यानले  २८ औं जनयुद्धको अवसरमा दिपावली गरेर मनाएको छ । जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रले शहिद गेटमा  दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय  सदस्य  तथा  कर्णाली  प्रदेश भुमि  ब्यवस्था कृषि  तथा  सहकारी  मन्त्री भिम प्रकाश  शर्माले  जनयुद्धबाट आएको परिवर्तनकै कारण आज नेपालमा जनताको शासन भएको बताउनु भयो । उहाँले जनयुद्धले आज भन्दा २८ बर्ष अगाडि २०५२ साल फागुन १ गतेदेखि तत्कालीन समयमा अपत्यारिलो लाग्ने राजनीतिक उद्देश्य बोकेर जनयुद्ध शुरु गरेको नेकपा (माओवादी केन्द्र) १० वर्ष जनयुद्ध र १६ बर्षे शान्तिपूर्ण राजनीतिक प्रक्रिया पार गर्दै यो अवस्थासम्म आई पुगेको बताउनु भयो ।

शर्माले देशको आमूल परिवर्तनमा जनयुद्ध वरदान साबित भएको दाबी  गर्नु  भयो । उहाँले भन्नु भयो , ‘जनयुद्धको उपलब्धी संस्थागत हुँदा नेपालमा स्वतन्त्रता र जनताले आफ्नो अधिकार उपभोग गर्न पाएको हो ।’ नेपालका दलित, पीछडा वर्ग, उत्पीडनमा परेका वर्ग, अल्पसंख्यक, गरिब, विपन्नहरूको अधिकारको लागि भएको जनयुद्धको सबभन्दा अमूल्य उपहार भएको बताउनु  भयो ।

बागचौरमा चियापान कार्यक्रम सम्पन्न
यसैगरी २८ औं जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र बागचौर नगर समितिको आयोजनामा चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि ने.क.पा.माओवादी केन्द्रका केन्द्रीय सदस्य टिकाराम वलीले महान जनयुद्धमा ज्यान गुमाउने सहिदहरुप्रति हार्दिक श्रद्वासुमन व्यक्त गर्दै जनयुद्धको क्रममा घाईते, वेपता भएका परिवारप्रति सम्झना अर्पण गर्नुभयो।

वलीले जनयुद्ध दिवसको अवसरमा चियापान कार्यक्रम उपस्थिति सबैलाई साझा दिवस भएको बताउँदै एकताबद्व, जनताका हरेक समस्या हल गर्ने जनप्रेमी व्यक्तित्व भएर जाने सबैमा प्रेरणा मिलोस भनी शुभकामना व्यक्त गर्नुभयो  ।

कार्यक्रमका अतिथि नेपाली काङ्ग्रेस कर्णाली प्रदेशका सह-महामन्त्री एकराज डाँगीले जनयुद्ध लगायतका विभिन्न कालखण्डमा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्वासुमन व्यक्त गर्नुभयो । यस्तै नेकपा एमाले बागचौर नगर समिति अध्यक्ष घनस्याम शर्माले जनयुद्ध शब्द सबैले सामान्य रुपमा लिए पनि यो देशमा थुप्रै परिवर्तन गर्ने मुल कारण नै जनयुद्ध भएको बताउनु भयो । शर्माले देश समृद्धिका लागि र सहिदहरुको सपना पूरा गर्न सबै राजनीतिज्ञहरु साझा एजेन्डा लिएर जानु पर्ने धारणा राख्नुभएको थियो।

यस्तै एकीकृत समाजवादीका केन्द्रीय परिषद ज्ञानेश्वर के.सी. ले १० वर्षीय जनयुद्धबाट सविधानसभा र गणतन्त्रको एजेन्डा राखेर नेकपा माओवादी केन्द्रको लक्ष्य अनुरुप नै यो देशमा संघियता सम्भव भएको बताउनु भयो ।

शुभकामना मन्तव्य राप्रपा नेपालकी प्रतिनिधि निर्मला योगी, बागचौर नगरपालिकाका उप-प्रमुख सुम्निमा डि.सी. वली, जनकल्याण नमुना मा.वि. थारमारेमा प्र.अ. डा.पूर्ण बहादुर भण्डारी लगायतका अतिथिहरुले राख्नु भएको थियो। उक्त  कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, विभिन्न संघ, संस्थाका प्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय थारमारेमा प्रतिनिधि, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

ने.क.पा. माओवादी केन्द्र बागचौर नगर समितिका उपाध्यक्ष रोमु शाहीको सभाअध्यक्षतामा भएको २८ औं जनयुद्ध दिवसको अवसरमा आयोजित चियापान तथा शुभकामना कार्यक्रमको सहजीकरण नगर कमिटी सचिव दिपक वलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार, ,  १० : ०१ बजे

प्रतिक्रिया दिनुहोस्