हामी परिक्षण प्रसारणमा छौ



सल्यान। विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारी सल्यानको कालिमाटीमा बजार अनुगमन गरिएको छ । कालिमाटी गाउँपालिका स्तरीय अनुगमन टोलीले स्थानिय बजारहरु दानेगौडा, टाट्के, घुम्ती, ढोरेनी, पुतलिबजार लगायतका क्षेत्रमा बुधबार विहान अनुगमन गरेको हो । वडा नम्बर २ र ३ का २९ बढि पसलको अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।

अनुगमनको क्रममा विभिन्न पसल तथा व्यवसाय दर्ता, नविकरण विना नै संचालन भएको, मूल्य शुचि नराखेको पाइएको थियो । यस्तै बिल लिने दिने नगरेको, पसल तथा व्यवसाय व्यवस्थित नगरेको, सबै किसिमका सामग्री एकैठाउँ राखिएको तथा सरसफाईमा पनि ध्यान नदिएको पाइएको थियो । अनुगमन टोलिले सम्बन्धित निकायमा व्यवसाय दर्ता तथा नवीकरण गर्न र अन्य आवश्यक सुझाव दिएको अनुगमन टोलि संयोजक गोरख बहादुर थापाले जानकारी दिनुभयो । अनुगमन टोलीले उपभोक्ता हित संरक्षणका लागि आवश्यक जनचेतना फैलाउने कार्य पनि गरेको थियो ।

उपभोक्ताहरू ठगिन सक्ने, म्याद नाघेका अखाद्य वस्तु बिक्री हुन सक्ने विषयलाई ध्यानमा राख्दै बजार अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । अनुगमनमा गाउँपालिकाका उपभोक्ता हित संरक्षण समितिका संयोजक इन्द्र बहादुर वली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल सहित सम्बन्धित शाखा कार्यालयका प्रमुख, प्रहरी, पत्रकार लगायतको सहभागिता थियो ।

दिवसको अवसरमा छलफल तथा अन्तरक्रिया सम्पन्न

यसैविच कालिमाटी गाउँपालिकाले विश्व उपभोक्ता अधिकार दिवसमा छलफल तथा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर केसीले आफ्नो उपभोग्य अधिकार सुनिश्चित गर्न सर्वप्रथम स्वयं जागरुक हुनुपर्नेमा जोड दिदै उपभोक्ताको हितको लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनु भयो।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौड्यालले उपभोक्ता हितको बारे आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । गाउँपालिकाका स्वास्थ्य संयोजक गोरख बहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष इन्द्र बहादुर वली, ३ का वडाध्यक्ष शिव बहदुर केसी, कार्यपालिका सदस्य सुमित्रा राना, स्थानिय व्यापारी तथा उपभोक्ताहरुको तर्फबाट केशर सिंह बुढा, कुबेर केसी, कुल प्रसाद भण्डारी, ओपेन्द्र केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसी गर्नुभएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार, ,  ३ : १६ बजे

प्रतिक्रिया दिनुहोस्