सल्यान । पछिल्लो समय सल्यानका विभिन्न पालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सक्रियता उल्लेखनीय रूपमा बढेको छ। पार्टीले विशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता ठूला दलको दीर्घकालीन प्रभाव रहेका बागचौर नगरपालिका, कुमाख गाउँपालिका, त्रिवेणी गाउँपालिका, बनगाड कुपिन्डे नगरपालिका र दार्मा गाउँपालिका जस्ता क्षेत्रमा संगठन विस्तारलाई तीव्र बनाएको छ।
रास्वपाको यो सक्रियतालाई सल्यानका बुद्धिजीवीहरूले “पुराना गढभित्रैबाट चुनौती दिने प्रयास” का रूपमा लिएका छन्। स्थानीय नेताहरू र कार्यकर्ताहरूलाई सदस्यता अभियानमा जोड्नु, घरदैलो भेटघाट, छलफल र प्रशिक्षणमार्फत रास्वपाले पछिल्लो समय गाउँगाउँमा आफ्नो जनसम्पर्क विस्तार गरिरहेको छ।
यस सक्रियतामा दुई पाटो देखिन्छ। पहिलो, रास्वपा आफ्नो संगठनात्मक जाल फैलाउँदै आगामी २०८४ सालको निर्वाचनका लागि मतदाता आधार मजबुत बनाउन चाहन्छ। दोस्रो, पुराना दलप्रति असन्तुष्ट मतदातालाई आकर्षित गर्दै नयाँ राजनीतिक विकल्पको छवि बनाउन खोजिरहेको छ।
तर, यस रणनीतिले पुराना दलहरूलाई पनि सतर्क बनाएको छ। स्थानीय स्तरमा आफ्ना आधार क्षेत्र बचाउन जनसम्पर्क र संगठन सुदृढीकरणमा ध्यान नदिए ती दल थप कमजोर हुँदै जाने संकेत देखिन थालेका छन्।
पछिल्लो एक महिनामा ३ हजार दुई सय नयाँ सदस्य थपिएको रास्वपा सल्यानका नेता केवल गिरीले सल्यानन्युजलाई जानकारी दिनुभयो । यदि रास्वपाको यो सक्रियता यस्तै जारी रह्यो भने २०८४ सालको निर्वाचनमा सल्यानको पुरानो राजनीतिक समीकरण उल्ट्याउने सम्भावना उच्च रहेको आकलन गरिन्छ।
Error generating audio.