सल्यान। जिल्ला हुलाक कार्यालय सल्यानको आयोजनामा १५१औं विश्व हुलाक दिवसको अवसरमा माध्यमिक विद्यालय (मावि) स्तरीय खुला वक्तृत्व प्रतियोगिता सम्पन्न भएको छ।
‘हुलाक सेवामा सूचना प्रविधिको प्रयोग’ विषयमा आयोजित प्रतियोगितामा जिल्लाका आठ विद्यालयका ११ विद्यार्थीले पाँच–पाँच मिनेटमा आफ्ना विचार प्रस्तुत गरेका थिए।
प्रतियोगितामा ज्योति पुञ्ज एकाडेमीका सुदिप शर्मा प्रथम, त्रिभुवन आधारभूत मावि लुहापिङकी सुजाता वली द्वितीय र एम.एम. एकेडेमी, शारदा–३ की विजेता भण्डारी तृतीय घोषित भएका छन्। विजेताहरूलाई क्रमशः रु. ७५००, रु. ५००० र रु. ३००० नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले विद्यार्थीको सार्वजनिक अभिव्यक्ति र नेतृत्व क्षमता विकासमा यस्ता प्रतियोगिताले टेवा पुर्याउने बताए। त्यसैगरी सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशका अध्यक्ष प्रतीक इच्छुक शर्माले सूचना प्रविधिको प्रयोगले हुलाक सेवा अझ प्रभावकारी बन्न सक्ने उल्लेख गरे।
जिल्ला हुलाक कार्यालयका प्रमुख चिन्तामणी रेग्मीले हुलाक प्रणालीबारे नयाँ पुस्तामा बुझाइ र रुचि जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार हुलाक सेवा अहिले डिजिटलाइजेशनतर्फ अघि बढ्दै व्यावसायिक ढंगले नागरिकसम्म पुग्ने सेवाप्रदायक निकायका रूपमा विकसित हुँदैछ।
विश्व हुलाक दिवसको अवसरमा भोलि सल्यान अस्पतालमा बिरामीहरूलाई फलफूल वितरण गर्ने र हुलाक कर्मचारीबीच हाजिरी-जवाफ प्रतियोगिता आयोजना गरिने हुलाक कार्यालय सल्यानले जनाएको छ।
Error generating audio.