हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानका १० स्थानीय सरकारमा बेरुजुको चाङ लागेको छ । जिल्लाका केही स्थानीय सरकारको बेरुजु रकम सुधारोन्मुख देखिए पनि अधिकांश पालिकामा बेरुजुको चाङ लागेको छ ।

महालेखा परीक्षणको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक लेखापरीक्षणमा सल्यानका १० स्थानीय तहमा आर्थिक वर्ष २०७८/०७९ मा २८ करोड ८५ लाख ४३ हजार रुपैयाँको बेरुजु देखाएको हो ।

६०औँ प्रतिवेदनको अनुसूचीमा उल्लेख गरेको बिवरण अनुसार आर्थिक वर्ष २०७८/०७९ मा १० अर्ब ११ करोड ५४ लाख ७६ हजार रकमको लेखा परीक्षण भएकोमा जिल्लाका १० पालिकाको कुल २८ करोड ८५ लाख ४३ हजार बेरुजु देखिएको हो । प्रतिवेदनको अनुसूचीमा उल्लेख गरेको बिवरण अनुसार सबैभन्दा धेरै त्रिवेणी गाउँपालिकाको ७३ करोड ५७ लाख ६२ हजार लेखा परीक्षण गरेकोमा ५ करोड ९ लाख ५९ हजार अर्थात् ६ दशमलव ९३ प्रतिशत बेरुजु रहेको देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औँ प्रतिवेदनमा जिल्लाका १० वटा पालिकामध्ये सबैभन्दा कम बेरुजु बागचौर नगरपालिकाको रहेको उल्लेख छ । जसअनुसार बागचौर नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ५८ करोड ७४ लाख ६२ हजार लेखा परीक्षण गरेकोमा १ करोड ५७ लाख ६७ हजार अर्थात् ० दशमलव ९९ प्रतिशत रकम बेरुजु देखिएको छ । 

यसैगरी कालीमाटी गाउँपालिकामा ९७ करोड १ लाख ४२ हजार लेखा परीक्षणमा १ करोड ५ लाख ३० हजार बेरुजु रहेको देखिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा कपुरकोट गाउँपालिकाले ६८ करोड ४२ लाख २६ हजार लेखा परीक्षण गर्दा २ करोड ५८ लाख ८५ हजार अर्थात् ३ दशमलव ७८ प्रतिशत बेरुजु देखिएको छ । 

जिल्लाकै शारदा नगरपालिकाले १ अर्ब १९ करोड १२ लाख ६० हजारको लेखा परीक्षण गर्दा ३ करोड ७१ हजार अर्थात् २ दशमलव ५२ प्रतिशत बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा देखाइएको छ । य्स्स्तै छत्रेश्वरी गाउँपालिकाले ८८ करोड ४३ लाख १८ हजार लेखा परीक्षण गर्दा ३ करोड ८६ लाख ८८ हजार अर्थात् ४ दशमलव ३७ प्रतिशत रकम बेरुजु देखिएको छ ।

यसैगरी दार्मा गाउँपालिकाको ८५ करोड ६९ लाख २४ हजार लेखा परीक्षण गर्दा ५ करोड ११ लाख २२ हजार अर्थात् ५ दशमलव ९७ प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिबेदनमा उल्लेख छ । यस्तै,कुमाख गाउँपालिकाले १अर्ब २० करोड ११ लाख १ हजार लेखा परीक्षण गर्दा १ करोड २८  लाख ३४ हजार अर्थात् १ दशमलव ०७ प्रतिशत बेरुजु रहेको छ । 

यसैगरी बनगाड कुपिण्डे नगरपालिकाको १ अर्ब २७ करोड ६१ लाख २६ हजार लेखा परीक्षण गर्दा ४ करोड १४ लाख ११ हजार अर्थात् ३ दशमलव २५ प्रतिशत बेरुजु देखिएको छ ।  यस्तै सिद्ध कुमाख गाउँपालिकाले ७२ करोड ८१ लाख ५५ हजार लेखा परीक्षण गर्दा १ करोड १२ लाख ७६ हजार अर्थात् १ दशमलव ५५ प्रतिशत बेरुजु रहेको छ

यसअघिको महालेखाको ५९ औँ प्रतिवेदनमा सल्यानका १० वटा पालिकाको कुल १० अर्ब ४१ करोड ७७ लाख ५० हजार लेखा परीक्षण गर्दा ३३ करोड ७१ लाख ८० हजार बेरुजु देखिएको थियो । यसअघि समाचारमा उल्लेखित डाटा केहि फरक भएकोले सच्याइएको छ।-सम्पादक )

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार, ,  ५ : ५० बजे

प्रतिक्रिया दिनुहोस्