हामी परिक्षण प्रसारणमा छौ



सल्यान । गणतन्त्र संगै देशमा व्यवस्था फेरिएपनि नागरिकको अवस्था उस्तै रहेको तर गणतन्त्रको विकल्प नरहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । १७ औं गणतन्त्र दिवसको अवसरमा सल्यान सदरमुकाम खलंगामा आयोजित जिल्ला स्तरिय कार्यक्रमका वक्ताहरुले गणतन्त्रलाई बलियो बनाउनुपर्ने र नागरिकको जीवनपद्धतीमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावलले राजनितीक परिवर्तनले नागरिकको जिवन र समृद्धिमा सकारात्मक प्रभाव नपारेमा गणतन्त्रप्रति विश्वास बृद्धि नहुने भन्दै सबैजना दलिय र व्यक्तिगत स्वार्थभन्दा माथी उठेर काम गर्नुपर्ने विचार व्यक्त गरे ।

सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले गणतन्त्र प्राप्ती पश्चात अपेक्षा अनुसार काम नभएको गुनासो आएपनि केही राम्रा परिवर्तन पनि भएको उल्लेख गरे । नागरिक स्वतन्त्रता, गाउँ वस्तीमा विविध क्षेत्रको विकास, चेतना स्तर, शैक्षिक स्तरमा परिवर्तन गणतन्त्रपश्चात भएको उल्लेख गर्दै उनले कर्मचारी वर्ग देखि सबैले जिम्मेवार पूर्वक आफ्नो कर्तव्य पालना गरेमा राम्रो प्रतिफल हात पर्ने धारणा राखे ।

कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका सदस्य हरिलाल खत्री, चेत बहादुर गिरी, वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्रलाल पाठक, त्रिवेणी गाउँपालिका सल्यानका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुुर केसी, नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी लगाएतले बोल्दै गणतन्त्रको विकल्प खोज्नुभन्दा पनि गणतन्त्रको उपलब्धी रक्षा गर्न सम्पूर्ण जनप्रतिनिधी, कर्मचारी, बुद्धिजीवी, राजनीतिक दलहरु, नागरिक समाजले सकारात्मक सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।

जिल्ला समन्वय समिति सल्यानको आयोजनामा भएको कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकाय तथा संघीय एवम् प्रदेश कार्यालयका प्रमुख प्रतिनिधी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण जिल्ला समन्वय समितिका नायव सुब्बा दल बहादुर गिरीले गरेका थिए ।

गणतन्त्र दिवस अन्तर्गत सोमबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ भने बुधबार सरसफाईका कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार, ,  २ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्