हामी परिक्षण प्रसारणमा छौ



धनगढी, ७ असार ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।
चलचित्र विकास बोर्डको आयोजनामा कैलालीको धनगढीमा सुरु भएको तीने दिन दोस्रो बाल चलचित्र महोत्सव उद्घाटन गर्दै उहाँले चलचित्र समाज रुपान्तणको महत्वपूर्ण माध्यम भएकाले यसमा सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।

‘हामी आज जुन प्रदेशमा उभिएर बोलिरहेका छौं, यसका कयौं जिल्लाहरुमा अझै पनि छाउपडीजस्ता अमानवीय प्रथाहरु बाँकी छन्’, मन्त्री शर्माले भन्नुभयो, ‘हामीले संविधान र कानुबाट जातीय छुवाछुत, लैंगिक विभेदजस्ता थुप्रै असमानताको अन्त्य गर्यौं तर व्यवहारमा अहिले पनि पूर्ण रुपमा हटिसकेको छैन । यस्ता विकृति र विसंगतिको अन्त्य गर्ने महत्वपूर्ण माध्यमको रुपमा कला संस्कृतिलाई अघि बढाइनुपर्छ, त्यसमा पनि चलचित्र क्षेत्र सशक्त माध्यम हुनसक्छ ।’ विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त अधिकारलाई जनताको जीवनसँग अब सामाजिक रुपान्तरण आवश्यक भएकाले यसलाई सबैले साझा अभियान बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बालबालिकाहरू माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउन र बालबालिकाहरूमा चलचित्र निर्माणको चासो बढाउन सफल यो महोत्सव उपयोगी हुने विश्वास व्यक्त गर्दै उहाँले यस्ता महोत्सवबाट अन्तराष्ट्रियस्तरमा हुने महोत्सवहरुमा नेपालको सहभागी बढाउन सहयोग पुग्ने पनि बताउनुभयो । नेपालबाट नेपाली बालबालिकाले बनाएका वा उनीहरुका बारेमा बनेका चलचित्र अन्तर्राष्ट्रयस्तरमा प्रतिष्पर्धा गर्न लायक बनाउनुपर्ने उहाँले स्पष्ट गर्नुभयो ।

बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुपा चौधरीलगायतले शुभकामना दिनुभएको थियो । महोत्सव असार ९ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : ८ असार २०८१, शुक्रबार, ,  ७ : २० बजे

प्रतिक्रिया दिनुहोस्