सल्यान, १३ पुस । सल्यानको छत्रेश्वरी गाउँपालिकाले कर्णाली प्रदेश सरकारसंगको साझेदारीमा एक करोड लागतको बिद्यालय भवन निर्माण गर्ने भएको छ ।
गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले शनिबार बिहान लक्ष्मी माध्यमिक विद्यालय, छत्रेश्वरी -४, जयचौरमा ८ कोठे पक्की भवनको सिलान्यास गरेका हुन । यसमा गाउँपालिकाको ५० लाख र प्रदेश समपुरक कोषको ५० लाख रुपैया रहेको छ ।
भवन सिलान्यास गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले निर्माण कार्यलाई समयमै सम्पन्न गर्न र विद्यालयलाई थप व्यवस्थित बनाउन आग्रह गर्नुभयो। भवन निर्माण पश्चात विद्यार्थीको सिकाइ वातावरण सुधारमा टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो । टेन्डर प्रक्रियामार्फत न्यू तुल्सी निर्माण सेवा, छत्रेश्वरी गाउँपालिका-५ ले भवन निर्माणको जिम्मा लिएको हो ।
भवन सिलान्यास कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष छविलाल खत्री, कार्यपालिका सदस्य तुल्सा विक, वडा सदस्यज्यूहरू, पुर्व वडा अध्यक्ष नेब बहादुर खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर वली, प्रधानाध्यापक बुद्धि डाँगी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।
भवन निर्माण कार्य पालिकासँग भएको सम्झौताअनुसार छिटो सम्पन्न हुने र विद्यालयको भौतिक पूर्वाधार मजबुत बन्ने अपेक्षा गरिएको छ। छत्रेश्वरी गाउँपालिका र कर्णाली प्रदेश सरकारको सहकार्यमा भएको यो पहलले शिक्षामा लगानी गर्दै स्थानीय स्तरको शैक्षिक स्तरलाई अझ उचाइमा पुर्याउने दिशामा सहयोग पुग्ने बिश्वास छ ।