सल्यान । छत्रेश्वरी गाउँपालिकासंगको सहकार्यमा स्वास्थ्य सेवा कार्यालय सल्यानले ग्रामीण क्षेत्रमै पुगेर विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ६ स्थित छत्रेश्वरी आधारभूत विद्यालय गर्चेमा शनिबार (फागुन १० गते) निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन हुनेभएको हो । स्वास्थ्य सेवा विस्तार र स्थानीयलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढा मगरले जनानुभयो।

शिविर मार्फत सम्पूर्ण रोगको निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा, दन्त सेवा प्रदान गरिने कार्यालयले जनाएको छ । यस्तै महिलाहरूका लागि भिआइए परीक्षण तथा रिङ पेसरी सेवा र भिडियो एक्स-रे सेवा दिइने प्रमुख डाक्टर बुढा मगरले बताउनु बहयो । “स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवा सहजै उपलब्ध गराउने उद्देश्यले यो विशेष स्वास्थ्य शिविर आयोजना गरिएको हो । यसबाट छत्रेश्वरी गाउँपालिका लगायत अन्य क्षेत्रका नागरिकहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेछन्”, उहाँको भनाइ रहेको छ । शनिबार विहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म छत्रेश्वरी आवि गर्चेमा शिविर संचालन हुने छत्रेश्वरी गाउँपालिकाको स्वास्थ शाखाले जनाएको छ ।

स्वास्थ्य सुविधाको अभावका कारण नियमित स्वास्थ्य परीक्षण र उपचारबाट बञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न स्वास्थ्य सेवा कार्यालयसंगको समन्वयमा शिविर संचालन हुन लागेको स्वास्थ्य शाखा छत्रेश्वरी गाउँपालिकाका प्रमुख गणेशमान डांगीले जनाउनुभयो ।

यस शिविरमा कुनै पनि नागरिक आउन सक्ने र सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ । सबै स्थानीय नागरिकलाई उक्त शिविरमा उपस्थित भई स्वास्थ्य सेवाको लाभ उठाउन छत्रेश्वरी गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयले अनुरोध गरेका छन् ।

Error generating audio.

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार, ,  १ : १७ बजे

प्रतिक्रिया दिनुहोस्