सल्यान । आगामी वर्ष कर्णाली प्रदेश सरकारबाट सञ्चालनमा आउने योजनाहरूको प्रभावकारी छनौट र कार्यान्वयन विषयमा सल्यानमा एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ।

जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न उक्त बैठकको अध्यक्षता कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य एवं पूर्वमन्त्री भिमप्रकाश शर्माले गर्नुभएको थियो। उहाँले विगतमा योजनाहरू पहुँच र सिफारिसको भरमा चयन हुने परम्परालाई अन्त्य गर्दै अबदेखि जनप्रतिनिधि तथा जनताको आवश्यकता र मागका आधारमा योजना छनौट गरिने स्पष्ट पार्नुभयो।

शर्माले भन्नुभयो, “अब व्यक्तिको गोजीमा योजनाहरू हाल्ने परिपाटी बन्द हुन्छ, हामी पालिका तथा जनताको आवाज सुनेर, कार्यविधिका आधारमा योजना अगाडि बढाउँछौं।”

बैठकमा जिल्लाका १० पालिकाबाट सिफारिस भएका योजना, संघ–संस्थाबाट आएका प्रस्ताव तथा व्यक्तिगत रूपमा दिइएका आवेदनका आधारमा छलफल भएको हो।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, प्रदेश सभा सदस्य लक्ष्मी सुनार, जिल्ला समन्वय समिति प्रमुख वेलाराम रावल, उपप्रमुख असविर बुढाथोकी, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा जिल्ला स्थित प्रदेश स्तरीय कार्यालयहरूले प्राप्त योजनाहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए। कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख टेकबहादुर रावलले सहजीकरण गर्नुभएको थियो।

Error generating audio.

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार, ,  ४ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्