सल्यान ।नेपाल नर्सिङ संघको नेतृत्वमा देशभरका नर्सिङ पेशाकर्मीहरूले सुरु गरेको आन्दोलनलाइ समर्थन सहित राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सल्यानले न्यायोचित पारिश्रमिकको माग राखेको छ । स्वास्थ्य क्षेत्रका पेशागत हकहित, मर्यादा र संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, सल्यान जिल्ला समितिले शुक्रबार जिल्ला प्रशासन कार्यालय र प्रशासन मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्राललाई ज्ञापन पत्र बुझाएको हो ।

महासंघका जिल्ला अध्यक्ष लोकबहादुर बस्नेतका अनुसार महासंघले मुख्य रुपमा दुई माग पेश गरेको छ । निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, गैरसरकारी स्वास्थ्य संस्था लगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकायमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने स्वास्थ्यकर्मीहरुको माग छ । यस्तै स्वास्थ्यकर्मी/कर्मचारीलाई सम्बन्धित रोजगारदाताले सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आवद्ध गराउनुपर्ने, कानुन विपरीत कुनै सम्झौता वा अन्य उपायबाट स्वास्थ्यकर्मीको हक अधिकार हनन नगर्न र यसमा सरकारद्वारा कडाइका साथ अनुगमन, नियमन र दोषी देखिए कडा कानुनी कारबाही हुनुपर्ने माग गरिएको छ ।

स्वास्थ्य क्षेत्रको अग्रणी संगठनको रूपमा काम गरिरहेको भन्दै महासंघले स्वास्थ्य सेवालाई प्रभावकारी र विशिष्टिकृत सेवाको रुपमा स्थापना गर्न निरन्तर पहल गर्दै आएको जनाएको छ। स्वास्थ्य क्षेत्रका सबल पक्षलाई प्रवद्धन र समर्थन गर्न र कमजोर पक्षमा सुधारका लागि रचनात्मक सुझाव दिने महासंघको प्रतिबद्धता छ ।

सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी हरिषचन्द शर्मालाइ ज्ञापनपत्र बुझाइसकेपछी महासंघका अध्यक्ष बस्नेतले स्वास्थ्य क्षेत्रको सबल पक्षलाई सहयोग र कमजोर पक्षलाई सुधार गर्ने आफुहरुको प्रतिबद्धता रहेको बताए ।पेशाकर्मीहरूको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न ज्ञापन पत्र पेश गरिएको उनले जनाए ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  २ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्