सल्यान। युवराज डराउँछ कि, मैदान छोड्छ कि वा सम्झौता गर्छ कि भन्ने विषयमा धेरै सल्यानीहरूले चासो राखेको मैले महसुस गरेको छु। तर एक शब्दमा भन्नुपर्दा—त्यो कुनै पनि (०%) सम्भावना छैन। वेथितिका विरुद्ध हामी सबै मिलेर लड्नेछौं।

युवा साथीहरू र सम्पूर्ण सल्यानीहरूको बढ्दो सहयोग र समर्थनप्रति म हार्दिक आभारी छु। मलाई थाहा छ, तपाईंहरूको यो समर्थन वेथितिका विरुद्धको आवाज हो। आज आवाज दबाउन विभिन्न पक्षबाट अनेक प्रयास भइरहेका छन्—विषयान्तर गर्ने, दबाउने, धम्क्याउने, षड्यन्त्र गर्ने। तर मलाई पूर्ण विश्वास छ—सत्य सधैं सत्य नै रहन्छ।
सल्यानमा सरकारी कार्यालयहरूको दादागीरी, नागरिकलाई हेपाइपूर्वक सेवा दिने परम्परा, सरकारभित्रै रहेर लुटतन्त्र मच्चाउने र सेटिङमा लिप्त हुनेहरूको जालो अब सधैंका लागि तोड्नुपर्छ। त्यस्तै, राजनीतिको आवरण ओढेर शक्तिको दुरुपयोग गर्नेहरूको धन्दा पनि अन्त्य गर्नुपर्छ।

राज्यका केही निकायहरूले नै लुटतन्त्र चलाइरहेका छन्—अब ती संरचनाहरू भत्काउनै पर्छ। भूकम्पका पराकम्पनजस्तै अहिले देखिएका यी संकेतहरूले सेटिङका चर्किएका भित्ताहरू ढाल्नेछन्, र त्यो समय धेरै टाढा छैन।
सालको काठ तस्करीदेखि माथिल्लो तहसम्म फैलिएको यो लुटतन्त्रको साम्राज्य कहिलेसम्म टिक्ला? कति समयसम्म पैसाको बलमा सबैलाई मिलाएर राख्न सकिएला? कति समयसम्म राज्यका निकायलाई दुरुपयोग गर्न सकिएला? अब यो सेटिङको साम्राज्य भत्किनै पर्छ—र छिट्टै भत्किन्छ।

अब हामी कसैले पनि पछि हट्ने छुट छैन। आज अन्याय र वेथितिका विरुद्ध आँखा र मुख बन्द गरेर बस्यौं भने भावी सन्ततिले हामीलाई माफ गर्ने छैनन्। अब लडौं—अरूका लागि होइन, आफ्नै भविष्यका लागि।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्