हामी परिक्षण प्रसारणमा छौ

शक्तिको शक्ति ?

शक्ति चन्दसँग अन्तरंग भेटघाट



२०४६ मंसिर २९ गते सल्यान जिल्ला बागचौर नगरपालिका ‐७ कोटबारामा बाबु दानबहादुर चन्द र आमा शोभा चन्दको कोखबाट जन्मेका शक्ति चन्द यतिबेला नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय लोक तथा दोहरी गायकका रुपमा आफूलाई उभ्याउन सफल भएका छन् । त्यसकै फलस्वरुप उनको सुरिलो स्वरमा गुञ्जिएका विभिन्न भाका आज हरेक मानिसको मानसपटलमा रहन सफल भएका छन् । उनकै स्वरमा रहेका ‘पलपल झल्को आयो’, ‘तिमिलाई शुभकामना धेरैधेरै मेरो’, ‘रोयौ झम्टिझम्टी’, ‘पाउनुमात्र माया होइन’, ‘तिमीलाई माया गर्छु,’, ‘मेरो आँखैं बैमानी तिम्रो जोवान बैमानी’ गितले गर्दा श्रोताहरुलाई झनै मोहित बनाएको पाइन्छ । जसको फलस्वरुप उनको स्वरमा सजिएको ‘फुल्दै फुल्दै जाउ’ बोलको गीतले त उनको सांगेतिक यात्रालाई निकै उचाइमा पुग्नलाई साथ दिएको पाइन्छ । गीत संगीतको औपचारीक अध्ययन विना पनि उनले करिब १०० भन्दा बढी लोकदोहोरीमा आफ्नो स्वर दिइसकेका छन् । प्रस्तुत छ, यसपटक सल्यानन्युजका निम्ति तिलकराज ओलीले उनै चर्चित युवा कलाकर्मी शक्ति चन्दसँग गरेको अन्तरंग कुराकानी :

जीवन :

तपाईको घरमा बोलाउने नाम ?
मेरो नाम शक्तिकप चन्द, घरमा बोलाउने नाम ठाइँलोबाबु ! गाउँघरतिर मलाई ठाइँले र साथीभाइले शक्ते कसैले शक्तिजी भनेर पनि बोलाउने गर्छन् ।
तपाईले जीवनमा गर्नुभएको अहिलेसम्मकै ठूलो बदमासी ?
आजसम्म ठूलो बदमासी त गरेको छैन तै पनि सानो छँदा गाउँमा आफन्तकै सुन्तला, काँक्रा, उखु खुब चोरी–चोरी साथीहरुसँग खाने गरिन्थ्यो । आफूले जानी नजानी त्यस्तो कार्य गर्न खोज्नु नै मेरो ठूलो बदमासी हो भन्ने मलाई लाग्छ ।
कुन खानेकुरा सम्झदा मुखै रसाएर आउँछ ?
त्यस्तो त केही छैन, तापनि अमिलो र पिरो भनेपछि मूखै रसाएर आउने गर्छ ।
तपाईंले पकाउन जानेका परिकारहरुको नाम लिनुपर्दा ?
सामान्य दाल–भात, तरकारी पकाउन आउँछ ।
तपाईंलाई मनपर्ने रंग र पहिरन ?
लगाउने कुरामा त्यति ध्यान छैन जस्तो भए पनि हुन्छ मलाई । भनिन्छ खानेकुरा आफ्नो लागी खानु पर्छ रे, लाउनुचाहिँ अर्काको लागि लाउनुपर्छ भन्छन् । म त नीलो रङबाट आकर्षित छु । लाउन त नेपाली दौरा–सुरुवाल नै मनपर्छ ।
तपाईंलाई मनपर्ने आफनै बानी के हो जस्तो लाग्छ ?
म सरलता, अनुशाषित भएकोले सबैले माया गर्नुहुन्छ भन्ने लाग्छ ।
तपाईं प्रेरणाको श्रोतको रुपमा कसलाई लिनुहुन्छ ?
मेरो प्रेरणा खासगरि आफ्नै घर, इष्टमित्र उहाँहरुकै मायाले यो क्षेत्रमा आउने अवसर पाएँ ।
पछिल्लो पटक कहिले सवैभन्दा बढी खुसी हुनुभएको थियो ?
त्यस्तो विशेष त केही छैन,तापनि नव लोकदोहरी गायकको अवार्ड हात पार्दाको अवस्थामा म खुसी भएको थिएँ ।
अति रिस उठेको बेला के गर्नुहुन्छ ?
अति रिस उठेको बेला एक्लै–एक्लै गीत गाउने गर्छु । म रिस उठेको ब्यक्तिसँग बोल्दिन, भरसक म आफै उठेर हिड्छु ।
तपाईंलाई सबैभन्दा बढी केसँग डर लाग्छ ?
म आफ्नो इज्जतसँग डराउने गर्छु । कहिलेकाहीँ नराम्रो कार्य मबाट हुन्छ कि भनेर सोच्ने गर्छु । सबैभन्दा ठुलो डर आफ्नो मेहनतले यहाँसम्म आइपुगेको सांगेतिक यात्राकै लाग्छ । त्यही त हो,अब के होला ? भोली के होला भन्ने ?

 

 

कला र कलाकारीता :

तपाईंले पहिलो पटक बजाएको बाजा के थियो ?
बजाउन खोजेको बाँसुरी तर मादल नै हो मैले पहिलो बजाएको बाजा ।
कलाकारितामा तपाईंको प्रवेश कसरी भयो र यसमा तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
गीत–संगीतप्रति मेरो रुचि सानैदेखि थियो । मेरो गाउँमा सालैजी, सल्यानी टप्पा भाका चल्थे अझ रेडियो नेपालमा दोहरी गीत सुन्थें । त्यहाँ गीत सुन्दा उत्तिखेरै सवाल–जबाफ कसरी हुन्छ भनेर सोच्ने गर्थें । अनि आफू स्कूल जाँदा–आउँदा गीत गुनगुनाउने गर्थें । यसो गर्नाले पनि केही सिर्जनालाई अगाडि बढाएको जस्तो लाग्छ । विभिन्न मेलापात, उकाली–ओराली, पूजा,चाडपर्वमा खेलिने भैलो र प्रत्यक्ष दोहोरी प्रतियोगीतामा समावेश भएर गाउने गर्थें । त्यसपछि मैले स्वर दिएको भाका ‘धुर्वतार झै’ बजारमा आयो । साथीभाइले तेरो त स्वर राम्रो छ, भनेको सुन्न पाउँदा यसप्रतिको मोह अझै बढ्दै गयो । त्यही मोहलाई छोड्न नसकी अन्य कार्यलाई छोडेर काठमाडौं आएर सुन्धारा दोहरी साँझमा दोहरी गाउन थालें । लोक दोहोरीका चर्चित गीतकार तथा गायकलाई भेटेर यससम्बन्धी थप जानकारी पाएँ । २०६८ तिर मैले स्वर दिएको गीत जब ‘पलपल झल्को आयो’,‘ तिमीलाई शुभकामना’ लोकदोहरीलगायत गीतले सफलता पाएपछि मेरो सांगीतिक जीवनको यात्रा अगाडि बढ्यो । अहिलेसम्म श्रोताको माया र सहयोगले गर्दा यस क्षेत्रमा म सन्तुष्ट नै छु । हिजोको सपना आज पूरा भएको छ र आजको सपना पूरा हुन अझै बाँकी छ । यही क्षेत्रमा लागेर बाँकी सपना साकार पार्ने योजनामै छु ।
तपाईले सवैभन्दा बढी गुनगुनाउने गीत ?
समयअनुसार हुन्छ, कहिलेकाहीँ आधुनिक गीत त कहिले लोकगीतमा बहकिन मन लाग्छ । मलाई मनपर्ने विशेष गीत त्यस्तो खासमा छैनन् । तै पनि धेरैजसो ‘फुल्दै फुल्दै जाउ’ अलि बढी गुनगुनाउने गर्छु ।
आफुले गायका गीतहरुमध्ये सबैभन्दा बढी मन परेको गीत ?
‘मत बगर ढुंगे वालुवा’ बोलको गित आफैंलाई असाध्यै मनपर्छ ।
कोरोना (कोभिड‐१९) महामारीले गीत–संगीतको क्षेत्रमा पहिलेभन्दा अहिले के परिवर्तन आएको जस्तो लाग्छ तपाईंलाई ?
त्यस्तो खास परिवर्तन ल्याएको जस्तो मलाई लाग्दैन । तैपनि खुल्ला साँस्कृतिक कार्यक्रमहरु बन्द छन् । स्टेज कार्यक्रमलाई खुब मिस गरेको अबस्था छ । तैपनि यो महामारीपछि युट्युब च्यानलमा दर्शक श्रोता बढेको अनुभव छ ।

 कलाकार र राजनीति :

तपाईको विचारमा राजनीति के हो ?
नीतिहरुको राजा नै राजनीति हो जस्तो लाग्छ मलाई त ।
नेपाललाई स्वतन्त्र र विकसित देशका रुपमा अगाडि बढाउन सक्ने अबको कुनै एक नेताको नाम लिनुपर्दा ?
खै त्यस्तो खासै कोही देख्दिनँ । कुर्सीमा नपुगन्जेल फलानाले गर्ला भन्ने आशा तर गएपछि सत्यानास भएको अवस्था छ त्यो हामीले देखिसक्यौं । त्यस्तो विश्वासै गर्न सकिने अवस्था छैन
नेपाली राजनीतिमा सधैं भइरहने कुन कुरालाई देखेर तपाईंलाई दिक्क लाग्छ ?
उही सधैं भइरहने भ्रष्टाचार, राजनीतिक पार्टीहरुबीच भएको सत्ता लुछाचँुडी र राजनीतिक अस्थिरता देखेर दिक्क लाग्छ । सबैभन्दा बढी त हुन्छ भनेका साना तिना बिकासका काम थुप्रै वर्ष बित्दा पनि नभएको देख्दा दिक्क लागेर आउँछ ।
कलाकारहरु राजनीतिक दलमा आबद्ध हुनु उचित वा अनुचित तपाईंलाइ के लाग्छ ?
अब विचारै नराख्ने कुरा होइन विचार राखेर त्यसप्रति बढी संलग्न हँुदा कुनै पनि काम नबन्ने भएको हँुदा आफू जुन क्षेत्रमा लाग्ने हो त्यही क्षेत्रमा निरन्तर लाग्नु नै मेरो विचारमा राम्रो हुन्छ । सकेसम्म कलाकार राजनीतिक कार्यकर्ता रुपमा देखिनु त्यति राम्रो मान्दिन म त ।
तपाई कुन राजनीतिक पार्टीको भन्न मिल्छ ?
म आजसम्म कुनै पार्टिमा आबद्ध छैन ।

 

 

 

मनोरन्जन र विविध :

तपाईंलाई मनपर्ने गायक–गायिकाको नाम लिनुपर्दा ?
मनपर्ने गायक र गायिका धेरै हुनुहुन्छ तर गायकमा पशुपति शर्मा र गायिकामा सर्मीला गरुङको नाम लिन चाहान्छु ।
तपाईंलाइ मनपर्ने नायक–नायिकाको नाम लिनुपर्दा ?
नायकमा राजेश हमाल, नायिकामा निरुता सिंह ।
 तपाईं नारायण गोपाललाई कसरी सम्झनुहुन्छ ?
सुगम संगीत क्षेत्रका सबैका अग्रज कलाकार हुनुहुन्छ ।
तपाईंलाई खेल्न र हेर्न मन लाग्ने खेलहरु के–के हुन् ?
भलिबल खेल्न मन पर्छ । खेल्नचाहिँ खास आउँदैन तापनि फुर्सदमा साथिभाइसँग कहिलेकाहीँ चेस खेल्छु । त्यस्तै फुटवल र क्रिकेट हेर्न मलाई खुबै मनपर्छ ।
घरबाहिर निस्किँदा कहिल्यै नछुटाउने कुनै ३ वस्तु ?
मोबाइल, मनिब्याग र आजभोलि एटिएम कार्ड ।
आफूमा एउटा कुरा परिर्वन गर्ने अवसर पाउनुभयो भने के परिवर्तन गर्नुहुन्थ्यो ?
त्यस्तो भएमा मेरो स्वरलाई माइकल ज्याक्सनको जस्तो बनाउँने थिएँ ।
समय र फुर्सद पाएमा नेपालका कुन–कुन ठाउँमा घुम्न चाहनुहुन्छ ?
मलाई मुगुको राराताल, डोल्पाको दुनै र मुक्तिनाथ क्षेत्रमा घुम्ने इच्छा छ ।
गायण र कार मध्ये एउटा रोज्नुपरेमा तपाईं कसलाई रोज्नुहुन्छ ?
कारभन्दा गायन नै रोज्छु ।
हालसम्मको भुल्नै नसकेको अविष्मरणीय क्षण ?
कोरोना भाइरस (कोभिड‐१९) ले दैनिकीमा पारेको प्रभाव नै मेरो अविष्मरणीय क्षण बन्न पुगेको छ ।
कलाकारको भविष्य कस्तो देख्नुहुन्छ ?
हामी कलाकारले राम्रा सिर्जना दिन सकेमा मात्र श्रोताको माया पाउन सक्छौं । त्यस्तै समय, श्रोताको मन र चाहनाअनुसारका राम्रा सिर्जना दिन सकेमा कलाकारको भविष्य उज्ज्वल नै देख्छु म । तर हिजोआजको भाईरल प्रवित्तिले गर्दा कहिलेकाही आजभोली हाहाहोहो गर्ने केही ब्यक्तिकै कारण दुःख र संघर्ष गरेर यो क्षेत्रमा लागेका संगीतकर्मी पनि ओझेल पर्ने उत्तिकै खतरा देख्छु ।
तपाईंको भविष्यको योजना के छ ?
सकेसम्म ,मिलेसम्म गीत–संगीतमै रहिरहने इच्छा छ । यही क्षेत्रमा लागेर समाजका लागी केही मात्रामा भए पनि समाजसेवामा रमाउने कोसिस गर्ने छु ।
अन्त्यमा,सल्यानलाई कसरी सम्झनुहुन्छ ?
सुत्दा,उठ्दा मात्र हैन म देश तथा विदेशमा भएको समयमा पनि सल्यानलाई सधैं सम्झिरहन्छु । सल्यान छ र पो आज म यो ठाउँमा आइपुगे भन्ने लाग्छ ।

 

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्