हामी परिक्षण प्रसारणमा छौ



दाङ,तुलसीपुर । दाङमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको बन्दको प्रभाव परेको छ । आज जिल्लाको घोराही तथा तुलसीपुरबाट लामो तथा छोटो दूरीका सर्वाजनिक सवारीका साधनहरु कतै गएका छैनन् । लामो तथा छोटो दूरीका सबै सवारीका साधन बसपार्कमै थन्किएका छन् ।
बन्दका कारण आज जिल्लाका मुख्य बजार घोराही, तुलसीपुर, लमही, भालुबाङ,हापुरे,गढवा,नारायणपुर,बिजौरी लगायत ठाउँमा पनि सार्वजनिक सवारी साधन चलेका छैनन् । छिटपुट रुपमा कहिकतै मोटरसाइकल भने गुडेका देख्न सकिन्छ ।


विप्लव नेतृत्वको नेकपाले आज आह्वान गरेको बन्दका कारण सम्पूर्ण शैक्षिक संस्थाहरुले आज पठनपाठन सञ्चालन नहुने भन्दै अभिभावक तथा विद्यार्थीलाई सूचित गरेका कारण सबै पूर्णरुपमा बन्द रहेको छन् । तर, बन्दमा प्रेस, तरकारी,पानी,दूध बोकेका सवारीका साधन र एम्बुलेन्स भने निर्वाध रुपमा चल्न दिएको नेकपा दाङले जनाएको छ ।


नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो ।
विप्लव नेतृत्वको पार्टीका विभिन्न जनवर्गीए संगठनले दाङका विभिन्न मूख्य ठाउँमा हिजो साँझ राँकेजुलुस समेत निकालेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार, ,  १० : १२ बजे

प्रतिक्रिया दिनुहोस्