हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानमा सत्ता गठबन्धनमा आबद्ध पाँच दलमा आबद्ध जिल्ला स्तरिय नेताले राष्ट्रिय सभा चुनावमा संयुक्त रुपमा अघि सारिएका आफ्ना साझा उम्मेदवारहरुलाई विजयी गराउन अपिल गर्नुभएको छ ।

नेपाली कांग्रेस सल्यान जिल्ला कार्यसमितिका सभापति केश बहादुर विष्ट, माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य प्रमोद श्रेष्ठ, एकीकृत समाजवादीका जिल्ला सचिव रमेश गौतमले आइतबार विज्ञप्ति जारी गर्दै माघ १२ गते कर्णाली प्रदेशको सुर्खेतमा हुने निर्वाचनमा साझा उम्मेदवारहरुलाई विजयी गराएर गठबन्धनलाई अझ मजबुत बनाउन आग्रह गर्नुभएको छ ।

‘यही २०७८ माघ १२ गते कर्णाली प्रदेशको सुर्खेतमा हुनगइरहेको राष्ट्रिय सभाको निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउने निर्णय गरियो ।’ जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

आउँदो बुधबार १९ पदका लागि चुनाव हुँदैछ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख–उपप्रमुख तथा प्रदेशसभा सदस्यले मतदान गर्न पाउँने व्यवस्था छ । सल्यानबाट प्रतिनिधित्व गर्दै एकीकृत समाजवादीका नेता उदय बोहरा कर्णालीबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्नुभएको छ ।

विज्ञप्तीमा नेपाली काँग्रेसको तर्फबाट जिल्ला सभापति केश बहादुर विष्ट,उपसभापति सन्तोष केसी,माओवादी केन्द्रको तर्फबाट पार्टीका केन्द्रिय सदस्य,संघीय संसद,प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री टेकबहादुर बस्नेत,मानबहादुर मल्लको उपस्थीति रहेको जनाइएको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट केन्द्रिय सल्लाहकार परिषद सदस्य दामोदर शर्मा,केन्द्रिय पतिनिधि परिषद सदस्य हरी केसी,जिल्ला सचिव रमेश गौतमको उपस्थिति रहेको थियो । जनता समाजबादी पार्टीको तर्फबाट प्रदेश उपाध्यक्ष तथा सल्यान जिल्ला इन्चार्ज पवित्रराज शर्मा र राष्ट्रिय जनमोर्चाको तर्फबाट ढकनप्रसाद शर्मामा उपस्थिति रहेको विज्ञप्तीमा जनाइएको छ ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार, ,  १० : २१ बजे

प्रतिक्रिया दिनुहोस्