हामी परिक्षण प्रसारणमा छौ

तुलसीपुरको एक घर आगलागीमा परी मृत्यु भएका ५ जनाको पहिचान खुल्यो

एउटा परिवारका तीन र अर्को परिवारका दुई जनाको मृत्यु



२८माघ,दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–५,‘ङ’ लाईन स्थित इरम फुटवयर रहेको एक घरमा भएको भिषण आगलागीमा परी मृत्यु भएका दुई परिवारका ५ जनाको पहिचान खुलेको छ ।

शुक्रबार बिहान करिब पौने दुई बजे तुलसीपुर उपमहानगरपालिका–५,‘ङ’ लाईन स्थित इरम फुटवयर रहेको घरमा पसलको गोदाममा लागेको आगलागीमा परी दुई परिवारका पाँचजना सदस्यको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उक्त गोदाम आगलागीमा परी मृत्यु हुनेमा अर्घाखाँची स्थायी घर भई हाल सोही घरमा भाडामा बस्दै आएका ४० बर्षीय नगरदिन अलि, उनका १३ बर्षीया छोरी सुजिता खातुन अली र ५ बर्षीय छोरा अविददिन अलि रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

त्यस्तै उक्त आगलागीमा परी मृत्यु हुनेमा सुर्खेत घर भई हाल सोही घरमा भाडामा बस्ने १६ बर्षीय मसिन बकस र उनका भाई १४ बर्षीय हसन बकस रहेको इलाका प्रहरी कार्यालय तुलसीपुर जनाएको छ । मसिन र उनका भाई हसन इरम फुटवयर सञ्चालकका छोराहरु हुन् ।

प्रहरीका अनुसार घरमा शुक्रबार विहान पौने २ बजेतिर आगलागी भएको हो । रातभर तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास गरिए पनि शुक्रबार बिहान करिब साढे ७ बजेतिर मात्र आगो केही कम भएको समयमा शब निकालिएको हो । उक्त घरमा विद्युत सर्ट हुँदा आगलागी भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

यसैगरी आगलागीको शोकमा तुलसीपुर बजार शुक्रबार एक दिनको लागि बन्द गरिएको तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार, ,  ५ : ०० बजे

प्रतिक्रिया दिनुहोस्