हामी परिक्षण प्रसारणमा छौ



फागुन ३०,सल्यान । दार्मामा विद्युतिकरण गर्न ठेक्का सम्झौता भएको तीन वर्ष वित्दा समेत हालसम्म जलेखर्क -अंगेरनेटा-त्रिवेणी हुँदै ढाकाडामकोटसम्म विद्युतको मुख्य लाइन र शाखा लाइन विस्तारको काम अपुरो भएको छ ।

दार्मा वडा नम्बर ५ मा विद्युतिकरण गर्न ठेक्का सम्झौता भएको ३ वर्ष पुरा हुँदासम्म काम दिने जिल्ला विद्युत कार्यालय सल्यान र जिम्मा पाएका ठेकेदारले समयमै चासो नलिदा उक्त योजनाले गति लिन नसकेको गाउँपालिकाका जनप्रतिनिधिहरुले बताउनुभयो । काम गर्दा भनेको समयमा विद्युत कार्यालयले ठेकादारलाई सामान पुरा नदिएको र सामान भएको समयमा ठेकेदारले चासो नदिदा काम अपुरो भएको देखिन्छ ।

ठेक्का सम्झौता भइसकेपछि समयमै काम सम्पन्न नहुँदा आफुहरु विद्युत कार्यालयमा काम सुचारु तत्काल गर्न भन्दै यसअघि विद्युत वितरण केन्द्र सल्यानको कार्यालयमा पटकपटक जाँदा समेत कुनै सुनुवाई नभएको भन्दै अब स्थानियबासी सहित जाने तयारी गरेको दार्मा –५,का वडा अध्यक्ष रामबहादुर केसीले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

यता आफ्नो पालिका भित्र भइरहेको विकास योजना अपुरो भएपछि दार्मा गाउँपालिकाले यस विषयमा थप चासो राखेको पालिका अध्यक्ष निमबहादुर केसीले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘धेरै चोटी विद्युत अफिसमा गएर अफिस र ठेकेदारलाई ध्यानाकर्षण गरियो,ताकेता गरियो,एकले अर्कोलाई आरोप लगाएर आफु पन्छिने काम दुबै पक्षबाट भइरहेको छ,अब कडा कदम चाल्नुपर्ने अबस्था आएको छ ।’

प्राधिकरणको ठेक्का भएकोले आफुहरुले निगरानी गर्ने मात्रै गर्न सक्ने भएकोले आफुहरु दबाब दिने अबस्थामा पुगेको जानकारी दिनुभयो ।

दार्मामा मात्रै ५० किलोमिटर तारको ठेक्का,तर प्राधिकरणको गोदाममा १ रोल तार छैन

दार्मामा समयमै विद्युत विस्तारको काम किन भएन ? भन्ने सवालमा वितरण केन्द्र सल्यानका प्रमुख अशोक लोहनीले आफु भर्खरै मात्र आएको हुँदा अब त्यसबारे छिटो निकास दिने गरी आफुले कदम चाल्ने जानकारी दिनुभयो ।
दार्मा तार करिब ५० किलोमिटर भन्दा बढी आवश्यक परेको तर आफुसँग अहिले १ रोल तार पनि गोदाममा नभएकोले पनि समस्या भएको जानकारी दिनुभयो । यसबारेमा आफुले प्रदेश कार्यालयलाई जानकारी गराइसकेको तर केन्द्रमा पनि ठेक्का नलागेकोले तार आउन अझै केही समय लाग्ने जवाफ माथिबाट आफुले पाएको उहाँले बताउनुभयो ।

यता दार्मामा विद्युत कार्यालयले झण्डै ५० किलोमिटर भन्दा बढी तार तान्ने र पोल गाड्ने काम दिएको हो । उक्त काम सम्पन्न गर्ने जिम्मा पाएको निर्माण कम्पनी शाश्वत कन्ट्रक्सनले हालसम्म पोल गाड्ने काम करिब पुरा गरेको जनाएको छ । अब ३६ पोल गाड्न बाँकी रहेको र तार आएपछि एकैपटक सबै काम पुरा हुने कम्पनीका मुख्य ठेकेदार भरत शाहले आफुलाई जानकारी पाएको उक्त कम्पनिका प्रतिनिधि हर्ष शर्माले सल्यानन्युजलाई जानकारी दिनुभयो । हालसम्म आधाभन्दा बढी काम पुरा भइसकेको र तार झर्ने बित्तिकै आफुहरु काम गर्न तयार रहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार, ,  २ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्