सल्यान । जिल्लाको बागचौर नगरपालिकाले कृषकलाई भैंसी प्रदान गरेको छ । नगरको ४ नं वडामा भैंसी प्रदान गरिएको हो ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको ‘एक स्थानीय तह एक पशु वस्तु उत्पादन’ कार्यक्रम अन्तर्गत दूध उत्पादनको लागि भैंसी ब्लक कार्यक्रम अनुसार, बागचौर नगरपालिकाको १० लाख, पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको १५ लाख र किसानहरुको साझेदारीमा पहिलो चरणमा १५ वटा मुर्रा जातका विकासी भैंसी कृषकहरुलाई प्रदान गरिएकोको बागचौर नगरपालिका पशु शाखा कार्यालय प्रमुख टेक बहादुर बस्नेतले जानकारी दिनुभयो ।
यस्तै नगरले कृषकहरुका बिमा गरिएका भैंसीलाई सुत्केरी भत्ता स्वरुप ३ हजार रुपैयाँ प्रदान गर्ने गरिरहेको छ । यसले कृषकहरुलाई पशुको बिमा गर्न तथा भैंसी पालन गर्न उत्साहित बनाउन सहयोग गर्ने बताएको छ ।
उक्त भैंसी बितरण कार्यक्रममा नगर प्रमुख लोकमान बुढाथोकी ,पशु शाखा प्रमुख टेक बहादुर बस्नेत तथा वडाका जनप्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।