हामी परिक्षण प्रसारणमा छौ



बागचौर,सल्यान । तत्कालीन माओवादीले सुरु गरेको १० बर्से जनयुद्धको क्रममा राज्यसत्ताद्वारा बेपत्ता पारिएकाहरूको सम्झनामा सल्यान जिल्ला बागचौर नगरपालिका वडा नम्बर-२ बागचौरमा पार्क तथा संग्राहलय बन्ने भएको छ ।

जनयुद्धमा बेपत्ता पारिएका बिपिन भण्डारीको नाममा दर्ता रहेको बिपिन भण्डारी फाउन्डेसनले उक्त पार्क तथा संग्राहलय बनाउने भएको हो । जनयुद्धमा बेपत्ता पारिएका बिपिन भण्डारीको नाममा बिपिन भण्डारी फाउन्डेसन यस अगाडि नै दर्तामा रहेको छ । फाउन्डेसन मुनाफा वितरण नगर्ने संस्थाको रूपमा दर्ता भएको हो ।

फाउन्डेसनलाई बेपत्ता पारिएका बिपिन भण्डारीका बुबा वरिष्ठ अधिवक्ता एकराज भण्डारी र आमा शान्ता भण्डारीद्वारा बागचौरमा रहेको १ रोपनी १२ आनाको जग्गा दान गर्नुभएको छ । उक्त जग्गाको बजार मूल्य करिब ६० लाख रहेको छ । पार्कमा बिपिन भण्डारीको सालिक पनि राखिनेछ । जसको लागि व्यक्तिगत रूपमा भण्डारी दम्पतीले नै लगानी रहनेछ ।

उक्त पार्कमा देशभरी बेपत्ता पारिएका सम्पूर्ण १ हजार ९८ जनाको २/३ को ४० वटा ग्रेनाइटमा विस्तृत जानकारी सहितको शिलालेख राखिनेछ । यस पार्कमा खानेपानी, शौचालय र कार्यक्रम गर्ने मिल्ने टहरा बनाउने र बिस्तारै यसलाई संग्राहलयको रूपमा स्थापित गर्ने र बेपत्ता योद्धा सम्बन्धी अध्ययन गर्न चाहनेको लागि यो एउटा अध्ययन केन्द्रको रूपमा विकास गर्ने योजना रहेको वरिष्ठ अधिवक्ता भण्डारीले बताउनुभयो ।

आफूले यस पार्क तथा संग्राहलयलाई विशेष महत्त्वका साथ हेरेको, जसको कारणले गर्दा देशको व्यवस्था परिवर्तन भयो, राज्यले उहाँहरुको योगदानको उचित कदर गर्नुपर्ने बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले बताउनु भएको छ । जसका लागि बागचौर नगरपालिकाले २५ लाख बजेट विनियोजन गरिसकेको बुढाथोकीले जानकारी दिनुभएको छ । पार्क तथा संग्राहलयको निर्माण पछि पर्यटनको क्षेत्रमा नगरलाई लाभ मिल्ने बुढाथोकीको विश्वास रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार, ,  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्