जेठ २५, सल्यान । बुधबार सल्यानको सदरमुकाम खलंगामा ४ जना युवाहरूको समूह एक युवकमाथि धारिलो हतियार प्रहार गरी फरार भएको छ ।
सदरमुकाम खलंगा स्थित मध्यपश्चिम होटलमा खाजा खाइरहेका शारदा नगरपालिका –२ जोगीदेउखोलाका १८ वर्षीय ओपेन्द्र केसीमाथि उक्त समूहले धारिलो हतियार प्रयोग गरी केसीलाई घाइते बनाएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार धारिलो हतियार प्रहार गर्ने सल्यान शारदा नगरपालिका –२ का १९ वर्षीय रुपेश बुढाथोकी, डाँडागाउँकै अन्दाजी १८ वर्षीय प्रशान्त (थर नखुलेको), शारदा नगरपालिका –१ पटनेरीका १८ वर्षीय विवस हमाल र सर्खेत गुर्भाकोट नगरपालिका –९ का १९ वर्षीय सागर पुन रहेका छन् ।
हतियार प्रहार गर्ने चारै जना फरार रहेको र अहिले उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो। प्रहरी का अनुसार घाइते केसीको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
Error generating audio.