हामी परिक्षण प्रसारणमा छौ



२८ साउन,काठमाडाैं । पोस्टबहादुर बोगटी प्रतिष्ठानको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)चयन हुुनुभएकाे छ ।

प्रतिष्ठानको शनिवार सम्पन्न सातौँ वार्षिक साधारण सभाले पुनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । अध्यक्ष चयन भएका नेता पुन माओवादीभित्र बोगटीका अनुयायीका रूपमा चिनिनुहुुन्छ ।

प्रतिष्ठानको उपाध्यक्षमा नुवाकोट क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङ र श्रीकृष्ण अधिकारी तथा महासचिवमा दाङ निवासी पार्टी पाेलिट्ब्युराे सदस्य निर्मल आचार्य चयन हुनुभएको प्रतिष्ठानले जनाएको छ ।

नुवाकोटका स्थायी बासिन्दा बोगटी तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष हुनुहुन्थ्यो । सादा जीवनशैली र सबैसँग घुलमिल हुन सक्ने क्षमताका कारण बोगटी माओवादीभित्र र बाहिरसमेत लोकप्रिय हुनुहुन्थ्यो  ।

२०१० साल साउन ३ मा नुवाकोटको तत्कालीन तुप्चे गाविस–२ भित्रीनीटारमा जन्मिएका बोगटीको ६१ वर्षको उमेरमा २०७१ साल भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर–३ बाट निर्वाचित बोगटी ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुभएको थियाे ।

बोगटीका छोरा रवि बोगटी तत्कालीन शाही नेपाली सेनाको कारबाहीमा २०५९ सालमा उत्तरी धादिङको सत्यदेवीमा सहिद हुनुभएको थियाे । बोगटीका छोरी प्रभा बोगटी भने अहिले नुवाकोटको विदुर नगरपालिकाको उपप्रमुख हुनुहुन्छ  । प्रतिष्ठानले शिक्षा, स्वास्थ्यजस्ता सामाजिक सेवाका कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार, ,  ६ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्