सल्यान,१३ असोज । बुधबार बिहान सल्यानको कपुरकोटमा भएको दुर्घटनामा घाइते भएका तिलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ ।
उपचारका क्रममा तिलक को बुधबार नै नेपालगन्जमा मृत्यु भएको उनको परिवारले जनाएको छ । उनको मृत्युसँगै जिप मा सवार ९ जनाकै दुर्घटनामा मृत्यु भएको छ । ९ जना सवार रा १ ज ५६३ नम्वरको जीप बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका ६ जलवाङतर्फ जाँदै थियो । मंगलबार बिहान करिब साढे ३ बजेतिर जीप कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि ज्यान गुमाउने सबै कपुरकोट गाउँपालिका वडा नं. ६ र ५ को सिमानामा पर्ने जलवाङ गाउँका स्थानीय हुन् । उनिहरु बाँकेको ढकेरीस्थित आफन्तको बिहेमा गएर फर्किने क्रममा जिप दुर्घटना हुँदा घटनास्थलमै ४५ बर्षीय टोपबहादुर ओली, ११ वर्षीय छोरा वसन्त ओली, ४० बर्षीय ललित ओली, ४५ वर्षीया कुमारी ओली र ४५ बर्षीय धर्म ओली एउटै परिवारका सदस्यको ज्यान गएको छ । टोपबहादुर र धर्म सहोदर दाजुभाई हुन् भने बसन्त टोप बहादुरका छोरा हुन् ।
कुमारी,टोपबहादुर र धर्म सहोदर भाउजू हुने भने ललित टोप बहादुरका काका का छोरा हुन् । दुर्घटनामा ज्यान गुमाउने अर्का ७० वर्षिय खुमलाल ओली पनि १३ दिने भाईसन्तान भित्रका पर्दछन् ।
उक्त दुर्घटनामा परेर सोहि गाउँका चालक २२ वर्षीय जीतबहादुर बोहरा र २७ वर्षीय सुरेश केसीको समेत मृत्यु भएको छ । गाडी सडकबाट करिब १५० मिटर तल खसेको थियो । चालक निदाएको कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।