सल्यान । सल्यान सिद्ध कुमाखमा अरिंगालको टोकाईबाट आमाछोरीको मृत्यु भएको छ । यस्तै एक जना घाइते भएका छन् ।
जिल्लाको सिद्ध कुमाख गाउँपालिका १ हामपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उहाँकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सोमबार साँझ खेतमा धान काटी घर फर्कने क्रममा अकस्मात आएको अरिंगालले तीन जनालाई टोकेको थियो । अरिंगालले टोकी घाइते आमा छोरीको सल्यान श्रीनगर स्थित परोपकार हस्पिटलमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर बाँके लैजाँदै गर्दा ४ वर्षीया प्राप्तीको बाटोमै मृत्यु भएको हो ।
आमाकको भने आज बिहान कोहलपुर मेडिकल कलेजमा उपचार सुरु गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।
घाइते मृत्तक शोभाका अंकल नाता पर्ने २१ वर्षीय नविन बस्नेतको श्रीनगर स्थित परोपकार हस्पिटलमा उपचार भइरहेको छ । मृत्तक दुवै जनाको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइदै गरेको प्रहरीको भनाई छ ।