सल्यान । सल्यानमा गठबन्धनका साझा उम्मेदवार निर्वाचित हुनुभएको छ। प्रतिनिधिसभा र दुई प्रदेश सभा सदस्य सहित तिनैजना विजयी हुनुभएको हो।
एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सल्यानमा गठबन्धन तर्फबाट नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला विजयी हुनुभएको छ। कुल ८४ हजार २२ मत खसेको सल्यानमा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव समेत रहनुभएका ज्वालाले ३५ हजार ७ सय मत प्राप्त गरेर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ।
ज्वालाका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले १९ हजार ७ सय ८९ मत ल्याउनु भएको छ भने ज्वालाले शाहलाइ १५ हजार ९ सय ११ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो ।यस्तै नेकपा एमाले उम्मेदवार राजेन्द्रवीर रायले १३ हजार ०२९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहनुभएको छ।
प्रदेशसभा (१) मा शर्मा ,(२)मा अधिकारी निर्वाचित

यतै २ वटा प्रदेश सभा रहेको सल्यानमा गठबन्धन कै उम्मेदवार निर्वाचित हुनुभएको छ । जसअनुसार प्रदेशसभा ‘१’ मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भिम प्रकाश शर्मा निर्वाचित हुनुभएको छ । शर्माले आफ्ना मुख्य प्रतिस्पर्धी नेकपा एमालेका कुल बहादुर गिरिलाई ८ हजार ०१८ मतान्तरले पछी पारेर निर्वाचित हुनुभएको हो।
शर्माले २२ हजार २ सय ४३ मत र गिरिले १४ हजार २ सय २५ मत प्राप्त गर्नुभएको थियो । प्रदेश ‘क’ तर्फ खसेको ४१ हजार १ सय ७६ मत मध्ये ३८ हजार ८ सय २८ सदर र २ हजार ३ सय ४८ बदर मत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।

यसैगरी प्रदेश सभा ‘२’ बाट गठबन्धनकै साझा उम्मेदवार नेपाली काङ्ग्रेसका सुरेश अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले आफ्ना मुख्य प्रतिस्पर्धी नेकपा एमालेका गुलावजंग शाहलाइ ३ हजार ७ सय ९० मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो। अधिकारीले २० हजार ४ सय ८ मत प्राप्त गर्नुभएको छ भने शाहले १६ हजार ६ सय १८ मत प्राप्त गर्नुभएको छ । सल्यान प्रदेशसभा (२) मा खसेको जम्मा मत ४१ हजार ९ सय ६७ मध्ये ४० हजार ६९ मत सदर र १ हजार ८ सय ९८ मत बदर रहेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले आधिकारिक घोषणा गर्ने तयारी गरेको छ ।
Error generating audio.