हामी परिक्षण प्रसारणमा छौ



दाङ । लुम्बिनी प्रदेश सभा सदस्यहरुको शपथ आज हुँदै छ । लुम्बिनीमा प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले दाङ देउखुरीमा आइतबार दिउँसो १ बजे शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

हालसम्म प्रदेशसभाका सम्पूर्ण काम अस्थायी मुकाम बुटवलबाट हुँदै आएको भएपनि आजदेखि लुम्बिनीको स्थायी राजधानी दाङ राप्ती गाउँपालिका देउखुरीमा नवनिर्मित प्रदेश सभा भवनमा बस्ने प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनका अनुसार अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ। प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले भन्नुभयो,’लुम्बिनी प्रदेश सभा नियमावलीको नियम ४ मा प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराउने भन्ने उल्लेख भएकाले सोही बमोजिम लुम्बिनी प्रदेश प्रमुखले नै प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाउनुहुनेछ।’

कुल ८७ प्रदेश सभा सदस्यहरु रहेको लुम्बिनी प्रदेश सभामा २९ जना प्रदेशसभा सदस्य सहित नेकपा एमाले पहिलो दल बनेको छ। यस्तै नेपाली कांग्रेसबाट २७ प्रदेश सभा सदस्य सहित दोस्रो ठुलो दल बनेको छ भने नेकपा (माओवादी केन्द्र)९ सांसदका साथ तेस्रो दल बन्न पुगेको छ।

यसैगरी राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४/४ जना प्रदेश सभा सदस्य हुनुहुन्छ । जसपा, लोसपा, जनमत पाटी र स्वतन्त्र ३/३ जना, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना सांसदको लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व रहेको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार, ,  ८ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्