हामी परिक्षण प्रसारणमा छौ



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका भित्र कार्यक्षेत्र भएका सहकारीको नियमनमा समस्या देखिएको छ । सहकारीको नियममा समस्या मात्रै नभइ कतिपय त सम्पर्कमासमेत नआएको पालिकाले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका अन्तर्गतको सहकारी तथा रोजगार प्रबर्द्धन शाखाका अनुसार नियामकको सम्पर्कमै नआउने र सम्पर्कमा आएर पनि कानुन बमोजिम विवरण नबुझाउनेको सङ्ख्या हरेक बर्ष बढ्दो क्रममा रहेको छ । यसबाट सहकारीको निति अनुसारको काम हुन नसकेको पाइएको छ । उपमहानगरपालिका को सहकारी तथा रोजगार प्रबर्द्धन शाखा प्रमुख सुनिता पान्डेका अनुसार तुलसीपुर उपमहानगरपालिमा मात्रै कार्यक्षेत्र रहनेगरी हालसम्म दर्ता भएको सहकारीको सङ्ख्या एक सय ६७ रहेको छ ।

जसमध्ये झण्डै एक सय १७ सहकारी हालसम्म सम्पर्कमा आएका छैनन् । उपमहानगरपालिकाले सहकारीलाई नियमन गर्न गत मंसिर १९ मा पुस १५ को मिति दिएर साधारणसभा सम्पन्न गर्न र सहकारीको नियमअनुसार समयमा विवरण अद्यावधिक गर्न सूचना जारी गरेको थियो । तर सूचनाको ब्यवास्था गर्दै धेरैजसो सहकारी हालसम्म कार्यालयमा उपस्थित नभएको पाइएको छ। दर्ता भएका १६७ मध्ये एक तिहाई अर्थात  जम्मा ५० सहकारीले मात्र नियमअनुसार समयमा विवरण अद्यावधिक गरेको तुलसीपुर  उपमहानगरपालिका को सहकारी तथा रोजगार प्रबर्द्धन शाखा प्रमुख सुनिता पान्डेले जानकारी दिनुभयो।

सहकारी ऐन तथा नियमावलीअनुसार प्रत्येक सहकारीले आर्थिक वर्ष सकिएको छ महिनाभित्र सम्बन्धित सहकारी विभागमा साधारणसभा तथा कर चुक्ताको प्रमाणपत्रसहित विवरण अद्यावधिक गर्नुपर्छ । तर, धेरैजसो सहकारीले अघिल्लो आर्थिक वर्षकै विवरण समेत अद्यावधिक नगरेको पाइएको छ ।

आर्थिक वर्ष २०७८/७९ को विवरणसहित अद्यावधिक गर्ने अन्तिम मिति पुस मसान्त आउन एक साता मात्रै बाँकी रहँदा यो समाचार तयार पार्दासम्म उपमहानगरपालिकामा दर्ता भएका १६७ सहकारी मध्ये जम्मा ५० हाराहारीमा मात्रै अद्यावधिक गर्न आएको तुलसीपुर उपमहानगरपालिकाको सहकारी हेर्ने सहकारी तथा रोजगार प्रबर्द्धन शाखाले जनाएको छ ।

दाङ जिल्लाको दोस्रो ठुलो स्थानीय तहमा समेत यो किसिमको ब्यथिति देखिनुले अधिकांश सहकारी संस्था बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेर समस्या ग्रस्त सहकारी थुप्रै  रहेको सहकारी क्षेत्रका जानकारहरुको भनाइ छ।

अहिले दाङ तुलसीपुरमा समेत कार्यक्षेत्र रहिआएको जनसेवा बहुउद्देश्यीय सहकारी संस्था मा आबद्ध बचतकर्ता सबैभन्दा  बढी पीडित देखिएका छन् । सहकारीले निक्षेप फिर्ता नगर्दा दाङ तुलसीपुरमा मात्र बचतकर्ताको करोडौं रकम उच्च जोखिममा परेको छ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार, ,  ६ : २७ बजे

प्रतिक्रिया दिनुहोस्