हामी परिक्षण प्रसारणमा छौ



सल्यान । भुस्या कुकुरको टोकाइबाट सल्यानको कपुरकोटमा चार जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा कुकुरको टोकाइबाट दुई बालक सहित चार जना घाइते भएका हुन् ।

कपुरकोटको तल्लो बजार निवासी उत्तम खड्काको ६ वर्षिय छोरा सुरज खड्का मंगलबार कुकुरको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि काठमाण्डौँ लगिएको छ । बहुला कुकुरले टोकेको भन्दै स्थानीय त्रासमा रहेको जनाएका छन् ।

कपुरकोट निवासी रुद्रवीर कवरका अनुसार सोमबार र मंगलबार गरेर कपुरकोटमा २२ वर्षिय दिपा भण्डारी, दुई बालक र एक पुरुष र एक बाख्रालाई भुस्या कुकुरले टोकेको थियो । यस्तै प्रहरी चौकी कपुरकोटले मानिसलाई कुकुरले टोकेको सुन्नमा आएको र यसबारे विवरण संकलनको कार्य भइरहेको जनाएको छ ।

कुकुरले चार जना मानिसलाई टोकिसक्दा र त्रास फैलदा समेत गाउँपालिकाले कुनै चासो नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । छोरोलाई उपचारका लागि काठमाण्डौ पुगेका उत्तम खड्काले भन्नुभयो , ‘कुकुरले टोकेर मानिसलाई घाइते बनाइसक्यो । तर गाउँपालिकाले कुनै पनि चासो दिएको छैन ।’ सडकका कुकुरको समयमै व्यवस्थापन र नियन्त्रण हुन नसक्ने हो भने रेविज फैलन सक्ने स्थानीयको चिन्ता छ ।

भुस्या कुकुरको व्यवस्थापन र रेविज नियन्त्रणका लागि कपुरकोट गाउँपालिकासंग कुनै योजना भएको देखिदैन । कुकुरलाई रेविज विरुद्धको खोप दिने र भुस्या कुकुर व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा कुनै पनि बजेट तथा योजना नरहेको गाउँपालिकाका योजना शाखा प्रमुख खगेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।

यता कुकुरले मानिसलाई टोकेको र रेविजको त्रास फैलिएकोबारे थाहा भएपनि यसतर्फ गाउँपालिकाका जनप्रतिनिधीहरुले कुनै चासो नदिएको स्थानीयहरुले दाबी छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार, ,  ३ : २१ बजे

प्रतिक्रिया दिनुहोस्