हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको शारदा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
शनिवार १३ औं नगरसभामा नगर प्रमुख प्रकाश भण्डारीले नीति तथा कार्यक्रम र नगर उपप्रमुख सुस्मिता सापकोटाले बजेट प्रस्तुत गर्नुभएको हो । नगरसभामा नगरप्रमुख भण्डारीले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा हरेक पक्षसँग सम्बन्धित बहुआयामिक समस्याहरू विशेष गरेर आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगारी तथा विकाससँग गाँसिएका जनसरोकारका विषय वस्तुलाई प्राथमिकिकरण गरिएको बताउनुभयो ।

जसमा गुणस्तरीय स्वास्थ्य सेवाः नागरिकको अपेक्षा भन्ने मान्यताका आधारमा सबै वडामा रहेका स्वास्थ्य संस्थाहरुको भौतिक पुर्वाधारमा सुधार साथै समयानुकुल स्तरोन्नति गरि स्रोत साधन सम्पन्न बनाउदै निःशुल्क औषधिहरुको नियमित आपूर्तिको सुनिश्चितता गरिने उल्लेख छ । यस्तै, स्वस्थ आहार, स्वस्थ विचार, स्वस्थ्य व्यवहारलाई ध्यानमा राखी नगरका प्रमुख स्थानहरुमा योग शिविर संचालन गर्ने, आकस्मिक स्वास्थ्य सेवामा टेवा पुर्‍याउन एम्बुलेन्स सेवाको उचित व्यवस्था गर्ने, सबै वडाहरुमा सुनौलो हजार दिनका महिला तथा बालबालिकाहरुको पोषण सुधारका लागि उपमेयर कोशेली कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

यस्तै नगर भित्रका बालविकास कक्षाहरुलाई नमुना बनाउनको लागि शिक्षकहरुलाई मन्टेश्वरी पद्धतिमा आधारित तालिम प्रदान, कक्षाकोठाहरुमा स्मार्ट टिभिको व्यवस्थापन गर्नुको साथै न्यूनतम मापदण्ड पुरा गर्ने उद्धेश्यलाई निरन्तरता दिइने, विद्यार्थीहरुमा पठन संस्कृतिको विकास गर्न तथा शैक्षिक सामग्रीको निर्माण तथा कक्षाकोठामा प्रभावकारी प्रयोगको लागि पढाइ मेला सञ्चालन गरिने छ ।

यस्तै पालिकामा कार्यरत बालविकास शिक्षक, विद्यालय कर्मचारी (लेखापाल) र विद्यालय सहयोगी कर्मचारीहरुलाई प्रोत्साहन गरिनुका साथै सबै सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षाको तालिम प्रदान गरिने छ । सबै सामुदायिक माध्यमिक विद्यालयहरुमा खेल प्रशिक्षकको व्यवस्था गरिने, प्राबिधिक दक्ष जनशक्ति उत्पादनमा जोड गर्न मेयर छात्रबृत्ति कार्यक्रम लागु गरिने, उपमेयरसँग किशोरी कार्यक्रम अन्तर्गत प्रजनन स्वास्थ्य तथा यौन शिक्षा एवम् लैंगिक विभेद विरुद्धको अभियान सबै विद्यालयमा सञ्चालन गरिने छ ।

यस्तै गुणस्तरीय विउविजनमा नगरलाई आत्मनिर्भर बनाउनको लागि रैथाने वाली, विउ विजन, नश्ल, कृषि तथा पशुपंक्षिजन्य जैविक विविधता संरक्षणमा समुदायलाई प्रोत्साहन गरिनेछ । एक बस्तु सामुहिक कृषि उत्पादन, एक वडा एक विशेष उत्पादन नीति मार्फत आत्मनिर्भर अर्थतन्त्रको विकास गरिनुका साथै पालिकाको माग भए अनुसार दुध, फुल, र मासुमा आत्मानिर्भर बनाउन ५ बर्ष भित्र लक्ष्य पुरा गरिने उल्लेख छ ।

नगरसभामा उपप्रमुख सापकोटाले सापकोटाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६८ करोड ६३ लाख १० हजार ११ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो । जसमा आन्तिरिक स्रोतबाट २ करोड ६३ लाख, स्थानिय तह राजस्व बाँडफाँडबाट ४५ लाख, अ.ल्या. बैंक मौज्दात ९९ लाख गरेर कुल आन्तरिक आम्दानी ६ करोड ६५ लाख रुपैँयामा रहेको उहाँले जानकारी दिनुभयो।

जसअन्तर्गत संघिय सरकारबाट प्राप्त हुने अनुदानमा संघिय समानिकरण अनुदान ११ करोड ५० लाख, संघिय ससर्त अनुदान ३२ करोड ७ लाख, संघिय समपुरक अनुदान ८० लाख, संघिय विशेष अनुदान ९० लाख र राजस्व बाँडफाँड ११ करोड ९ लाख ६७ हजार गरि ५६ करोड ३६ लाख ३७ हजार रहेको छ । यस्तै प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा प्रदेश समानिकरण अनुदान १ करोड ३३ लाख, प्रदेश ससर्त अनुदान ४ करोड ७६ लाख २८ हजार, प्रदेश समपुरक अनुदान १ करोड ४४ लाख, प्रदेश विशेष अनुदान ४० लाख र राजस्व बाँडफाँड २५ लाख ६७ हजार गरि ८ करोड १९ लाख ४३ हजार रहेको छ ।

बजेटमा नगरका १५ वटै वडामा २५ लाखका दरले वडास्तरीय योजना तथा कार्यक्रमको लागि ३ करोड ७५ लाख विनियोजन गरिएको छ । त्यस्तै, विपद् व्यवस्थापमा ५० लाख, श्रीनगरमा आधुनिक बसपार्क निर्माण तथा हल निर्माणको लागि संघीय समपुरक वजेट सहित १ करोड ९० लाख, शिक्षा तर्फ १ करोड, स्वास्थ्य तर्फ ५० लाख, विद्युतमा ५० लाख, नगरप्रहरी व्यवस्थापनमा ४० लाख, सवारीसाधन खरिदमा १ करोड, सार्वजनिक निजि साझेदारी मार्फत नगर बस सञ्चालनको लागि २० लाख रुपैँया विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार, ,  १० : २७ बजे

प्रतिक्रिया दिनुहोस्