हामी परिक्षण प्रसारणमा छौ



काठमाडौँ ।  मलेसियामा जारी एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल प्रवेश गरेको छ ।  शनिबार जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनले हराउँदै नेपाल फाइनलमा पुगेर आगामी यू—१९ एसिया कपका लागि आफ्नो स्थान पक्का गरेको छ ।

शनिबार सम्पन्न उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा दुई विकेट गुमाएर एक सय ४० रन बनाएपछि वर्षा सुरु भएको थियो । वर्षाले खेल अवरुद्ध हुँदा नेपालका लागि तेस्रो नम्बरका ब्याट्सम्यान आकाश त्रिपाठी अविजित ३५ र कप्तान देब खनाल अविजित आठ रन बनाउँदै क्रिजमा थिए । 
आकाशले ४७ बलको सामना गरी एक छक्का र एक चौका हिर्काएका थिए । नेपालका ओपनर ब्याट्सम्यानद्वय दीपक बोहरा र अर्जुन कुमालले ३२ रनको साझेदारी गरेका थिए । दीपक ७९ रन बनाएर आउट भएका थिए । उनले ७० बलमा दुई छक्का र १० चौका पनि प्रहार गरेका थिए । 

अर्जुन भने १० रनमा पेभेलियन फर्किएका थिए । नेपालले अतिरिक्त रुपमा आठ रन पाएको थियो । जापानका बलर काजुमा कातो स्टाफोर्ड र किफर यामामोतोले एक—एक विकेट लिएका थिए । त्यसपछि खेल वर्षाका कारण खेल रोकिएको थियो । 

अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई हराउँदै संयुक्त अरब इमिरेट्स (यूएई) फाइनलमा पुगेको हो । नेपाल समूह ‘ए’ र जापान समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । यूएई समूह ‘बी’ र सिंगापुर समूह ‘सी’ को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेका थिए । 

नेपालले अब प्रतियोगिताको अक्टोबर २४ तारिखमा हुने फाइनल खेलमा उपाधिका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ । त्यसअघि अक्टोबर २३ तारिखमा जापान र सिंगापुरबिच तेस्रो स्थानका लागि खेल हुनेछ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार, ,  ४ : २० बजे

प्रतिक्रिया दिनुहोस्