हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती नदीमा शुक्रबार राति साढे १० बजे भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा बाँकेका चार, भारतीय नागरिक तीन, रुकुम पश्चिम, चितवन, मकवानपुर, काठमाडौं र जुम्लाका एक–एकजना छन् ।

दुर्घटनामा परी बाँकेको खजुरा गाउँपालिका–३ का सञ्जय केसी, नेपालगन्जकी ६० वर्षीया कुसुम बस्नेत, बाँकेकै ३० वर्षीय रामवरण हरिजन, कोहलपुर–८ का २८ वर्षीय अर्पण थापाको मृत्यु भएको छ ।

यस्तै, रुकुमको गोतमकोटका २५ वर्षीय दीपक कामी, चितवनको भरतपुर महानगरपालिका–२५ का ३५ वर्षीय अनिल खड्का, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौंको चन्द्रागिरिका ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, भारतको विहारका ६७ वर्षीय जोगेन्द्र राम, भारतकै भौतपुरका ४५ वर्षीय चेतराम सिल्पकार र भारतकै उत्तर प्रदेशका ३१ वर्षीया मुनेको मृत्यु भएको छ ।

१० शव परीक्षण भइसकेको छ । दुईजनाका आफन्त नआएकाले शव परीक्षण हुन सकेको छैन । शवलाई लमही अस्पतालमा राखिएको छ ।दुर्घटनामा परी २४ जना घाइते भएका थिए । घाइतेमध्ये चार गम्भीर, ११ मध्यम र नौजनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

घाइतेमध्ये तीनजनाको उपचारपछि ‘डिस्चार्ज’ भइसकेको छ । घाइतेमध्ये आठजनाको बुटवल र १३ को कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना चालकको लापरबाहीका कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार, ,  १० : ०१ बजे

प्रतिक्रिया दिनुहोस्