८ फागुन,सल्यान । शनिबार सल्यानका युवा साहित्यकार तथा लेखक गणेशमान सिंहको कथा र कविता सङ्ग्रह ‘केही कथा र केही कविता’ सार्वजनिक गरियो । समाजबाद अध्ययन केन्द्र सल्यानले आयोजना गरेको एक कार्यक्रमकाबीच कथा र कविता संग्रह सार्वजनिक गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्रदेश सांसद गुलाबजंग शाहले संग्रहमा समावेश कथा र कविताले युवाचेत बोकेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘अहिले धेरै युवा संघर्षशिल भए तर शिर्जनशिल हुन नसकिरहेको अबस्थामा यस संग्रहले युवाहरुलाई सकारात्मक बन्न बल पुग्ने मेरो विश्वास छ ।’ कार्यक्रममा कथा र कविता संग्रहको सफलताको लागि शुभकामना दिदै शाहले भन्नुभयो,‘समाजमा मित्रवत व्यवहार गर्न र समाज बदल्न यस कथा तथा कविता संग्रहले रोलमोडेलको भूमिका खेल्नेछ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरुले युवा साहित्यकार गणेशमान सिंहका हरेक रचना काल्पनिक वा साहित्यिक मात्रै नभएर धेरै कुराहरु अनुसन्धानात्मक हुने हुदा उहाँका हरेक कृति पढ्न र बुझ्न सजिलो हुने भनाई राख्नुभएको थियो ।

‘केही कथा र केही कविता’ बारेमा विस्तृत समीक्षा गर्दै समिक्षक तथा शिक्षण पेशामा संलग्न बीरबहादुर सेजवाल

कार्यक्रममा ‘केही कथा र केही कविता’ बारेमा विस्तृत समीक्षा गर्दै समिक्षक तथा शिक्षण पेशामा संलग्न बीरबहादुर सेजवालले यस कृतिका लेखकले हिमाल,पहाड,तराई अनि मधेशलाई कथा र कविताको माध्ययममा ढालेर उत्कृष्ट कृति प्रस्तुत गरेको बताउनुभयो । आधुनिक समाजको कथा, व्यथालाई कथा र कविताको माध्यम बनाई शिलशिलेवार तरिकाले लेखकले बुनेको भन्दै लेखकको प्रशंसा गर्नुभयो । समिक्षक सेजवालले यस कृतिको पहिलो खण्डमा १३ कथा र दोस्रो खण्डमा २७ कविता  रहेको पनि जानकारी दिनुभयो ।

कृति सार्वजनिक कार्यक्रमको प्रमुख आतिथ्यता कर्णाली प्रदेशका सांसद गुलाबजंग शाहले गर्नुभएको थियो । समाजबाद अध्ययन केन्द्रका अध्यक्ष तथा लेखक गणेशमानसिंहको सभापतित्वमा भएको कार्यक्रममा पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्रबहादुर शाह, पूर्वसांसद नेत्रलाल श्रेष्ठ ,जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर बिष्ट, भूमि समस्या समाधान आयोग सल्यानका अध्यक्ष लोकबहादुर डाँगी,काँग्रेस सल्यानका सभापति गणेश चन्द लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई पत्रकार तथा समाजबाद अध्ययन केन्द्र सल्यानका सचिव भूम प्रकाश भण्डारी (भूपिन)ले सञ्चालन गर्नुभएको थियो ।

सल्यान निवासी युवा साहित्यकार गणेशमान सिंहका का यसअघि २०७१ मा ‘यो देश र म’,यस्तै २०७४ मा ‘सल्यान,इतिहास र सपना’ नामक दुईवटा कृतिहरु प्रकाशित भइसकेका छन् भने ‘केही कथा र केही कविता’ उहाँको यो तेस्रो कृति हो ।

मूल्य रु ३०० रहेको यस पुस्तकलाई समाजबाद अध्ययन केन्द्र सल्यानले बजारमा ल्याएको हो ।

कार्यक्रममा कृतिबारे बोल्दै साहित्यकार तथा लेखक गणेशमान सिंह

तस्बिर सौजन्य : डिल्लिराज रावत र बीरबहादुर सेजवाल

 

Error generating audio.

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार, ,  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्