त्यो कालजयी सपना
जसले नवयुगको निर्माण गर्यो
निद्रामा भएकालाई ब्युँझायो
तन्द्रामा भएकालाई उठायो
बयलगाडा रोज्नेलाई
रेल इन्जिन खोज्न सिकायो
सपना त्यस्तो होस्
जसले निदाउन नदेओस्
सपना यस्तो होस्
जसले बाटो बिराउन नदेओस्।
त्यो अजम्बरी सपना
जसले गाउँ, देहात र झुपडी ब्युँझायो
जसले दमित, उत्पीडित र अपहेलितलाई उठायो
त्यो दावानल बनेर उठ्यो
त्यो महासंग्राम बनेर जुट्यो
सपना फुलेको त्यो याममा
धर्ती रातै भयो
पहराहरु बेस्कन गर्जिए
लहराहरु नागबेलीझैं लहरिए
नदी, झरना र हिमनदीहरुले
जनमुक्ति धुन र शोकधुन बजाए
सप्तरंगी इन्द्रधनुष पनि
स्वतन्त्रताका ध्वजा बनेर फहराए।
सपना फलेको यो याम
धर्ति टक्क अडिएको छ
जन-जनको विश्वास फक्रेको बखत
कतै मथिंगल खलबलिएको छ
ढल्न दिनु हुँदैन सपनाका पर्खाल
धैर्यताको बाँध कस्नुपर्छ
सपनामा आउने ‘प्रेत’हरुलाई
आस्थाको ज्वाला जगाई भगाउनुपर्छ।
यो बखत
सपना फल्नु पर्छ, गल्नु हुँदैन
आँधी तुफानको बीचमा पनि
सपना ढल्नु हुदैन
फक्रन, फुल्न र फल्नु पर्छ
एउटा युगीन सपना
एउटा अजम्बरी सपना
एउटा कालजयी सपना।