सल्यान । प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारहरूको पेशागत हक–हित र सञ्चार क्षेत्रका विविध मागहरू सम्बोधन गर्न माग गर्दै प्रेस सेन्टर नेपाल, जिल्ला समिति सल्यानले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा संविधान बमोजिम प्रेसमैत्री कानून निर्माण, समानुपातिक विज्ञापन वितरण प्रणाली कार्यान्वयन, पत्रकार स्वास्थ्य तथा जीवन बीमा, सञ्चार सामग्रीमा भन्सार छुट, सञ्चार उपकरणको विमा, स्थानीय तहमा विज्ञापन वितरण कार्यविधि निर्माण, सूचना हकको प्रभावकारी कार्यान्वयन, र पत्रकारमाथि भइरहेका आक्रमण तथा धम्कीको अन्त्यसहित पत्रकार सुरक्षाको प्रत्याभूतिको माग गरिएको छ।

ज्ञापनपत्र प्रेस सेन्टर कर्णाली प्रदेश अध्यक्ष प्रतिक इच्छुक शर्मा, जिल्ला सह–सचिव प्रदीप मगर, कमल धिताल लगायत प्रेस सेन्टरमा आवद्ध पत्रकारहरूको टोलीले प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई बुझाएको हो।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पुनले पत्रकारका हक–हित तथा पेशागत जायज मागहरू सम्बन्धित निकायमा पठाउने र जिल्लाका सरोकारवाला निकायहरूसँग समन्वय गरी कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रेस सेन्टर नेपाल, सल्यानका १० वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ। प्रेस सेन्टर नेपालको केन्द्रीय आह्वानअनुसार प्रेस सेन्टर सल्यानले स्थानीय तहमा ईमेल मार्फत  ज्ञापन पत्र वुझाएको छ ।
शारदा नगरपालिका, बागचौर नगरपालिका, बनगाड कुपिन्डे नगरपालिका, दार्मा गाउँपालिका, कुमाख गाउँपालिका, सिद्धकुमाख गाउँपालिका, त्रिवेणी गाउँपालिका, कालिमाटी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउँपालिकामा पनि ज्ञापनपत्र पठाएको छ। सो ज्ञापनपत्रमा प्रेस सेन्टर नेपाल, सल्यानकी जिल्ला अध्यक्ष सरिता चलाउनेको हस्ताक्षर रहेको छ।  प्रेस सेन्टर नेपाल, सल्यानले पत्रकारिता क्षेत्रको गरिमा, स्वतन्त्रता र सुरक्षालाई सुनिश्चित गर्दै समावेशी, उत्तरदायी र जिम्मेवार सञ्चारको विकासमा यस अभियानले सघाउ पु¥याउने विश्वास व्यक्त गरेको छ। ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतलाई दिइएको छ।

यस्ता छ्न् ८ बँदे मागहरू :
१.संविधान कार्यान्वयनका लागि बन्नुपर्ने सञ्चार नीतिहरु अहिले पनि सरकारको प्राथमिकतामा नपरेकाले तत्काल संविधानको भावनाअनुसार पूर्ण प्रेस स्वतन्त्रतामैत्री कानून निर्माण गरियोस् । संघ,प्रदेश र स्थानीय तहमा बनेका र बन्ने प्रक्रियामा रहेका कतिपय कानून प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध रहेकाप्रति प्रेस सेन्टर नेपालको गम्भीर चासो र चिन्ता छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विश्वव्यापी प्रेस स्वतन्ताको मूल मान्यता र नियन्त्रण भन्दा पनि नियमन उन्मुख कानून निर्माणमा सरकारको ध्यानाकर्षण गराउँदछौँ । सञ्चार सम्बद्ध सरोकारवालाको वृहत् छलफलबाट मात्रै आवश्यक कानून निर्माणको काम अघि बढाउन सरकारलाई आग्रह गर्दछौँ ।
२ .सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापनलाई बजेटमार्फत शतप्रतिशत वृद्धि र विज्ञापन ऐनमा भएको व्यवस्थाअनुसार तत्काल सबैप्रकारका सञ्चार माध्यमले पाउने गरी समानुपातिक विज्ञापन वितरण प्रणाली लागू गरियोस् । स्थानीय विज्ञापनमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन र केन्द्रबाट वितरण हुने सरकारी विज्ञापन स्थानीय तहका सञ्चारमाध्यमले समेत पाउनेगरी समानुपातिक वितरण प्रणाली लागू गर्न पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन माग गर्दछौँ ।
३.  पत्रकार स्वास्थ्य बिमा र जीवन बिमाको व्यवस्था गर्न माग गर्दछौँ । साथै, पत्रकार स्वास्थ्य विमालाई कार्यान्वय गर्दे आगामी दिनमा यसलाई निरन्तरता दिन माग गर्दछौ ।सञ्चारकर्मीहरूले खरिद गर्ने सञ्चार सामग्री अनुदान र सञ्चारगृहका लागि सवारी साधन खरिद प्रक्रियामा भन्सार कर छुटको व्यवस्था,सञ्चार उपकरण विमा गरियोस् ।
४. सञ्चारका विभिन्न माध्यममार्फत भइरहेको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीतालगायतका नेपाली जनताको लामो संघर्षपछि प्राप्त उपलब्धि र संविधानमाथिको प्रहारलाई रोकन माग गर्दछौँ ।
५. स्थानीय तहहरूले २०८२/०८३ को नीति तथा कार्यक्रममा स्थानीय सञ्चारको प्रवद्र्धन, सीप अभिवृद्धि तथा पत्रकार संगठन सुदृढिकरणका लागि बजेट विनियोजन गरियोस्।
६. जिल्लाका स्थानीय तहहरूमा अहिलेसम्म लोककल्याणकारी विज्ञापन वितरण कार्यविधि निर्माण नभएको हुँदा तत्काल कार्यविधि बनाएर पारदर्शी विज्ञापन वितरण सुनिश्चित गरियोस्।
७. समाचारको विषयमा असन्तुष्टि भएमा कानुनी प्रक्रियाबाट समाधान खोज्न सकिने हुँदाहुँदै पत्रकारमाथि भइरहेका आक्रमण, धम्की, मानमर्दन जस्ता घटनाहरूको अन्त्य गरियोस् र पत्रकार सुरक्षाको प्रत्याभूति गरियोस्।
८. सूचना हक संविधानसम्मत मौलिक अधिकार भएकाले जिल्लाभरिका सबै सरकारी कार्यालयमा सूचना हक कार्यान्वयन गर्न आवश्यक वातावरण निर्माण गरियोस्।

Error generating audio.

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार, ,  ४ : ३० बजे

प्रतिक्रिया दिनुहोस्