असार । शारदा नगरपालिका, सल्यानले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति, कार्यक्रम तथा योजना तर्जुमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख सुस्मिता सापकोटा, नगर कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, संघसंस्था, सञ्चारकर्मी, व्यापारी, उद्यमी, व्यवसायी, कृषक, बुद्धिजीवी तथा सरोकारवाला क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

नगरपालिकाले नागरिकको आवश्यकता पहिचान, स्थानीय सरोकार र अपेक्षालाई समेट्दै आगामी वर्षको नीति तथा कार्यक्रम जनमुखी, समावेशी र सहभागितामूलक बनाउन छलफल कार्यक्रम आयोजना गरेको बताइएको छ। नगर प्रमुख प्रकाश भण्डारीले कार्यक्रममा बोल्दै नागरिक सहभागिता नै समृद्ध नगर निर्माणको आधार भएको उल्लेख गर्दै सबै पक्षको सुझावलाई गम्भीरतापूर्वक मनन गरिने बताए।

“हामी जनताका प्रत्यक्ष प्रतिनिधि हौं। तसर्थ नागरिकको आवाजलाई सुन्ने र त्यसलाई कार्यान्वयनमा लैजाने हाम्रो दायित्व हो। तपाईहरूबाट प्राप्त राय सुझावलाई समेटेर आगामी नीति तथा कार्यक्रमलाई यथासम्भव प्रभावकारी र व्यवहारिक बनाउनेछौं,” – नगर प्रमुख भण्डारीले बताए।

कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरूमध्ये २३ जनाले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित आवश्यक सुझाव तथा सल्लाह राखेका थिए। ती सुझावहरूमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि प्रवर्द्धन, रोजगारी सृजना, महिला सशक्तिकरण, युवामैत्री कार्यक्रम, वातावरण संरक्षण, व्यवसाय प्रवर्द्धन लगायतका विषय प्राथमिकतामा पर्नुपर्ने बताइएको थियो।

सुझाव राख्ने सहभागीहरूले नगरपालिकाले नीति निर्माण पूर्व यस्तो प्रकारको परामर्श र छलफल कार्यक्रम आयोजना गर्नु सकारात्मक अभ्यास भएको उल्लेख गर्दै निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे। उनीहरूले नीति तथा कार्यक्रम बनाउने प्रक्रियामा नागरिक तहसम्मको समावेशिता र सहभागिता सुनिश्चित गरिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा शारदा नगरपालिकाका कर्मचारीहरू रविन विष्ट, रविन्द्र बुढा, राम भण्डारी, जोनी सिंह र विमला डाँगी सुझाव संकलनको जिम्मेवारीमा रहेका थिए। कार्यक्रमको सहजीकरण नगर प्रमुखका प्रेस सल्लाहकार योगराज विश्वकर्माले गरेका थिए।

नगर उपप्रमुख सुस्मिता सापकोटाले समेत कार्यक्रमको महत्वबारे धारणा राख्दै सहभागीहरूको सुझावले आगामी योजना निर्माणमा महत्वपूर्ण टेवा पुर्‍याउने बताइन्।

छलफल कार्यक्रमले नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियामा सरोकारवालाको धारणा समेट्ने प्रयास गरेकाले स्थानीय तहमा पारदर्शिता र उत्तरदायित्व अभिवृद्धिमा सघाउ पुग्ने अपेक्षा गरिएको छ।

शारदा नगरपालिकाले छलफल कार्यक्रममार्फत संकलित सुझावहरूलाई सम्बन्धित प्राविधिक र योजनाविद्सँगको समन्वयमा विश्लेषण गरी आगामी नीति तथा कार्यक्रममा समावेश गरिने जनाएको छ।

Error generating audio.

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार, ,  ९ : २७ बजे

प्रतिक्रिया दिनुहोस्