सल्यान। बागचौर नगरपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालयमा २ कोठे पक्की भवनको उद्घाटन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा प्रदेश सांसद भिमप्रकाश शर्माले विद्यालयलाई नमूना तथा आवासीय विद्यालय बनाउन निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यालयको प्रगतिका लागि तीनै तहका सरकारबीच सहकार्य अपरिहार्य भएको बताए ।
विशिष्ट अतिथि नगर उप–प्रमुख सुम्निमा डी.सी. वलीले शिक्षा नै समग्र विकासको आधार भएकोले शिक्षण संस्थामा भेदभावरहित वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।
सो अवसरमा प्रधानाध्यापक नरेश कुमार के.सी.ले आ.व. २०८१/८२ को सामाजिक लेखापरीक्षण प्रतिवेदन, विद्यालयका भावी योजना र रणनीति प्रस्तुत गरेका थिए । साथै दशैं, तिहार र छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम पनि सम्पन्न भएको थियो ।
कार्यक्रममा नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नरेन्द्र प्रसाद भट्ट, वडा अध्यक्ष कृष्ण बहादुर बस्नेत, विभिन्न विद्यालयका प्रधानाध्यापक, आमा समूहका प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण सह–प्रधानाध्यापक रविकिरण ओलीले गरेका थिए भने अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद पुनले गरेका थिए ।
Error generating audio.