हामी परिक्षण प्रसारणमा छौ


 

१५ मंसिर २०७७, सोमबार, ,  

0
Shares

एजेन्सी । कुनै मानिस बायाँ हाते हुनुमा डीएनएमा हुने आनुवंशिक संरचनाको भूमिका भएको प्रमाण पहिलो चोटि वैज्ञानिकहरूले फेला पारेका छन् । मस्तिष्कको संरचना एवं त्यसको काम गर्ने प्रणालीको प्रभावशाली संलग्नता देखिन्छ । फलस्वरुप बायाँ हाते मानिसमा वाक्कौशल धेरै हुनसक्ने अक्सफर्ड विश्वविद्यालयका शोधकर्ताहरूले बताएका छन् ।

 

वैज्ञानिक अनुसन्धानले के भन्छ ?

शोधकर्ताका अनुसार १० जना मानिसमध्ये औसत एकजना बायाँ हाते हुने संम्भावना प्रवल हुन्छ । शोधकर्ताले जुम्ल्याहा मानिसमा गरिएका शोधले आमाबुवाबाट आएको वंशाणु डीएनएले त्यसमा काम गरेको देखाइसकेको छ । तर त्यसको खास कुरा वैज्ञानिकले बल्ल पत्ता लाग्न थालेको दाबी गरेका छन् । ब्रेन जर्नलमा प्रकाशित अध्ययनले यससँग सम्बन्धित चारवटा विशेष खण्ड फेला परेको देखाएको छ ।
एक शोधकर्ता प्राध्यापक ग्वेनाइल डउडले जनाए अनुसार,‘अध्ययनले कुनै व्यक्ति बायाँ हाते वा दायाँ हाते हुने कुरा उसको आनुवंशिक पक्षसँग सम्बन्धित रहेको पहिलो पटक देखाएको छ।’ बीबीसीले केही महिना अघि आफ्नो रिपोर्टमा शोधकर्तालाई उल्लेख गर्दै प्रकाशित गरेको थियो ।

यसले काम कसरी गर्छ ?

शरीरका कोशिकाभित्र हुने साइटोस्केलेटन भनिने जटिल संरचनामा म्युटेशन अर्थात डीएनएमा हुने आनुवंशिक परिवर्तन भएको पाइयो ।
त्यस्तै खालका आनुवंशिक परिवर्तनहरूले गर्दा चिप्लेकीराभित्र हुने साइटोस्केलेटनमा पनि परिवर्तन आएर त्यसको खपटा देब्रेतिर घुमेको हुन्छ । यूके बायोब्याङ्क परियोजनामा सहभागीहरूको परीक्षण गर्दा साइटोस्केलेटनले मस्तिष्कको ह्वाइट म्याटर भनिने विशेष क्षेत्रको संरचनामा परिवर्तन गरिरहेको देखिएको छ ।

यसबारे प्राध्यापक डउडले भनाइ छ, ‘मानिसमा हातको चालसँग जोडिएको साइटोस्केलेटनसम्बन्धी विविधता मस्तिष्कमा स्पष्ट रूपमा देखिने कुरा हामीले पहिलो पटक प्रमाणित गरेका छौँ ।’ बायाँ हाते मानिसहरूमा मस्तिष्कका दायाँ र बायाँ दुवै भाग भाषिक ज्ञानको अङ्गसँग सम्बन्धित भएका र बढी समन्वयमा रहेका हुन्छन् ।

शोधकर्ताहरूले बायाँ हाते मानिसहरूमा राम्रो वाक्कौशल हुने अनुमान त गरेका छन् तर उनीहरूसँग त्यसलाई पुष्टि गर्ने कुनै खास तथ्याङ्क भने छैन ।अध्ययनले बायाँ हाते मानिसमा मस्तिष्कका कोशिकासँग सम्बन्धित पार्किन्सन्स रोगको न्यून र स्किट्सफ्रेनिअको उच्च जोखिम रहने देखाएको छ ।

अनुसन्धानको प्रभाव कस्तो पर्ला ?

खासगरी बायाँ हाते भएका व्यक्तिले प्रायजसो केही नराम्रो व्यवहारको सामना गर्नुपर्छ । हातका शल्यचिकित्सक तथा शोधका लेखक प्राध्यापक डोमिनिक फर्निस यसबारे आफ्नो अनुसन्धानमा भन्छन्, ‘कैयौँ संस्कृतिमा बायाँ हाते व्यक्तिलाई अशुभ वा दुष्टको रूपमा समेत लिइन्छ । अनि त्यो मानिसको बोलीचालीमा समेत प्रष्ट झल्किन्छ ।’
फ्रेन्च भाषामा गौशको अर्थ बायाँ र अपरिष्कृत दुवै हुने गर्छ । अंग्रेजीमा राइटको अर्थ दायाँ र ठिक दुवै हुन्छ । प्राध्यापक फर्निसको भनाइ छ, ‘अध्ययनले बायाँ हाते हुनु केवल मस्तिष्कको जैविक विकाससँग सम्बन्धित रहेको देखाएको छ, भाग्यसँग केही सम्बन्ध छैन।’

‘अनि यो आनुवंशिक भिन्नताद्वारा निर्देशित रहेको कुरा हामीले पत्ता लगाएका छौँ । त्यसले हामीलाई मान्छे केले बनाउँछ भन्ने बुझ्न सघाएको छ ।’

 

यसबारे थप कुरा के हो त ?

दायाँ वा बायाँ हाते हुनुमा २५ प्रतिशत आनुवंशिक र ७५ प्रतिशत वंशाणुगत गुणबाहेक अन्य बाह्य कारणको भूमिका भएको यस अध्ययनको निचोड छ ।
हालसम्मको अध्ययनले आनुवंशिक अवयवको जम्मा एक प्रतिशत र त्यो पनि केवल ब्रिटिश जनसंख्यामा पत्ता लगाएको छ । त्यसैले विश्वभरिका मानिसहरूको आनुवंशिक गुणबारे बुझ्नलाई अझै धेरै काम गर्न बाँकी नै रहेको देखिन्छ ।

-बीबीसीको सहयोगमा

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : १६ बजे

प्रतिक्रिया दिनुहोस्